काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली सामन्ती शासकजस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंडेको बताएका हुन्।
प्रचण्डले प्रतिनिधि सभा बिघटन गरेको दिनबाट नै प्रधानमन्त्री ओली पराजित भएको र आफूहरु विजयी भएको पनि अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘म, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु पलेटी कसेर बाटोमा जाँदाखेरि यिनीहरु त सडकमा पुगे भनेर बडो चिन्ता गरेको देखे मैले।’
‘मलाई के लागेको छ भने हामी सडकमा पुगेको होइन हामी जनताको बीचमा पुग्यौं। केपी ओली सामन्ती शासक जस्तो श्री ३ महाराजधिराज जंगेको बाटोमा हिंड्नुभयो’ प्रचण्डले भने, ‘त्यहिँबाट उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो।’
पार्टीभित्रको विवाद सामना गर्न नसकेर प्रधानमन्त्री ओलीले देशलाई नै राजनीतिक संकट ल्याउने हदसम्म पुर्याएको पनि अध्यक्ष प्रचण्डले बताए। यस कदमबाट प्रधानमन्त्री ओली इतिहासमा पराजित भएको पनि उनले बताए। संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले इतिहासको पानामा कलंकको टीका लगाएकोसमेत बताए।
उनले भने, ‘हाम्रो पार्टीभित्र विवाद चलेको पक्कै पनि हो। अन्तरसंघर्ष चलेको हो। त्यहाँ सही र गलतको बीचमा हामीले पार्टी एकताको बेलामा निर्धारित गरेको राजनीतिक प्रतिवेदन र विधान अनुसार चल्नुपर्छ भन्ने जोड गरेर व्यक्तिवादी तरिकाले गुटवादी तरिकाले पार्टी विधि, पद्धतिभन्दा बाहिर गएर चल्नेका बीचको लडाई परेकै हो। तर त्यो पार्टीभित्रको संघर्ष थियो। पार्टीभित्रको संघर्षलाई देशमा राजनीतिक संकट ल्याउने हदसम्म गएर इतिहासमा प्रतिगमनको बाहक बन्नु दुर्भाग्यपूर्ण हो। तर मैले के भन्ने गरेको छु भने केपी ओली पराजित हुनुभयो इतिहासमा। उहाँ कलंकित हुनुभयो। उहाँले कलंकको टिका लगाउनुभयो। हामी फेरी एकचोटी हाम्रो विजयको अभियानको सुरुवात भयो।’
प्रधानन्त्री ओलीले हुँदै नभएको प्रावधानबाट संसद विघटन गरेर आफूहरुलाई जनतामा जाने मुद्दा दिएको पनि बताए। संविधान, संघीयता र गणतन्त्रको पक्षमा फेरि एकपटक लड्ने मुद्दा दिएकोले अब हुने कुनै पनि चुनावमा आफूहरुले जित्ने पनि अध्यक्ष प्रचण्डले बताए। तर पछिलो समय जे भइराखेको छ, त्यो क्रान्ति र प्रतिक्रान्तिको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा भएको लडाई रहेको पनि बताए। उनले भने, ‘अहिले देशमा जे भइराखेको छ यो क्रान्ति र प्रतिक्रान्तिको बीचमा, अग्रगमन र प्रतिगमनको बीचमा, प्रगति र दुर्गतिको बीचको लडाइको रुपमा रहेको छ।’
कम्युनिस्टहरु शासनको नेतृत्व गर्ने ठाउँमा पुग्दा नेताहरुको विचारमा गम्भीर समस्या देखापर्ने गरेको पनि अध्यक्ष प्रचण्डले बताए। रुस र चीनमा समेत कम्युनिष्ट आन्दोलन हुँदा वैचारिक सांस्कृतिक समस्या आएको बताउँदै त्यस्तै समस्या अहिले नेपालमा पनि देखा परेको अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘आज हाम्रो कम्युनिस्ट पार्टीभित्र पनि एउटा ठूलो वैचारिक संंस्कृतिक बिचलन देखापर्यो। प्रतिक्रान्तिकारी, प्रतिगमनकारी बिचलन देखापर्यो। हामीले झण्डै ७० वर्ष लामो लडाई लडेर ल्याएको उपलब्धीमाथि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमाथि निर्मम कु र प्रहार भएको छ। कम्युनिस्ट पार्टीभित्रैबाट तपाई हामीले नै अगाडि बढाएको नेतृत्वबाट ७ दशक लगाएर हजारौं हजार सहिदहरुको बलिदान लाखौंको त्याग करोडौंको सहभागिता समूहिक विवेकको प्रयोग गरेर त्यसको साझा निष्कर्षको रुपमा संघीय लोकतान्त्रिक संविधान बनाइएको छ।’
२०४७ सालपछिका अनुभवहरुलाई हेरेर संविधानमा प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिइएको पनि अध्यक्ष प्रचण्डले बताए। संविधान सभामा भएका दलहरुबीच व्यापक छलफल गरेर संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार खोसिएको बताए। तर प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरेको बताए। उनले भने, ‘अहिले संविधानको मर्म र भावना सामूहिक विवेकको निष्कर्षमाथि प्रहार गरियो। यो सदन माथिको मात्रै प्रहार होइन। यो सांसदहरुको सार्वभौम अधिकारमाथिको मात्रै प्रहार होइन।’
उनले प्रतिनिधि सभा नमरेकोसमेत बताए। प्रधानमन्त्रीले सदन विघटन गर्ने अधिकार नै नदिएकाले सदन अहिले पनि जीवितै रहेको तर सरकार विघटन भएको अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘सदन मरेको छैन, सदन जीवित छ। सदन विघटन भएको छैन। सदन जीवित छ। विघटन भएको केपी ओलीको सरकार हो। उसले जनताका विरुद्धमा संविधानको मर्म र भावना विपरित गएपछि ऊ विघटित भएको हो।’ सम्मानित अदालतले संविधानमा प्रष्टसँग लेखिएको कुरा बुझ्दैन भनियो भने अदालतको सम्मानप्रति अपमान भएको ठहर्नेसमेत बताए। त्यसैले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रहार संविधानमाथिको मात्र नभएर समग्र लोकतन्त्र, देशका सबै उत्पीडित वर्ग जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान, समावेशीता र समावेशी लोकतन्त्रको हक अधिकारमाथिको प्रहार भएको पनि बताए। उनले भने, ‘केपी ओलीले जुन ढंगले निर्मम प्रहार संविधानमाथि, लोकतन्त्रमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि, यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान, समावेशीता र समावेशी लोकतन्त्रको हक अधिकारमाथि जो प्रहार गरेका छन्, त्यो सही हुन सक्दैन।’



लोकपाटी न्यूज

