संसद बिघटनविरुद्ध परासीमा काँग्रेसको विरोध प्रदर्शन

pic 7
लोकपाटी न्यूज

रमेश भुसाल/ परासी, १३ पुस। संसद बिघटनविरुद्ध नेपाली काँग्रेसले सोमबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विरोध प्रर्दशन गरेको छ। प्रधानमन्त्रीको केपि शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसको क्षेत्रिय कार्यसमितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

काँग्रेसको पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली परासी बजार परिक्रमा गर्दै वुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दे काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले प्रधानमन्त्री ओलीका कारण मुलुक अप्ठ्यारोमा परेको बताउदै संसद पुर्नस्थापना गर्नुपर्नेमा जोड दिएका थिए।

मुलुक कोरोना महामारीमा परेको समयमा सरकार त्यसप्रति जिम्मेवार हुनुपर्नेमा उल्टै प्रतिनिधि सभानै विघटन गर्नु गलत भएको बताए। विरोध सभालाई प्रदेश सभा सदस्य वैजनाथ जयसवाल, जिल्ला सभापति विष्णु पौडेल लगायतले सम्बोधन गरेका थिए। काँग्रेसको क्षेत्रिय कार्यसमितिले जिल्लाका विभिन्न स्थानमा प्रर्दशन गरेका छन्।