परासी। नेकपाका नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन्। परासीमा पत्रकारसँग भेटमा नेता भुसालले भने, ‘मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ।’
असंवैधानिक तरिकाले विघटन गरेको संसद्लाई कांग्रेस र लोकतन्त्र पक्षधर कम्यनिष्ट शक्ति मिलेर पुनस्थापित गर्ने उनको भनाइ थियो। ‘कांग्रेस र कम्युनिष्टहरुको सम्बन्ध कमजोर हुँदा नेपालमा लोकतन्त्रले घुँटा टेकेको इतिहास छ । त्यसैले राजाले लगेको संविधान कांग्रेस र कम्युनिष्ट मिलेर फिर्ता गरे झै अब रैतीले लगेको संविधान पनि दुई शक्ति मिलेर संयुक्त रुपमा फिर्ता ल्याउने छौं,’ उनले भने।’
संसद् पुनस्थापनाको आन्दोलनमा नेपाली कांग्रेस आउनेमा आफू विश्वस्त रहेको उनले बताए। देशमा स्थिरता कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी अहिले अदालत र न्यायाधिहरुको काँधमा गएको बताउँदै नेपाली जनताको ठूलो बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा अदालतबाट हुनेमा उनले विश्वास लिए।
नेकपालाई फेरि एक गराउन चिनीयाँ कम्युनिष्ट नेताहरु नेपाल भ्रमणमा आएको प्रसंगमा भुसालले भने, ‘उनीहरु नेपालका कम्युनिष्टहरुलाई फुटाउने र मिलाउने भन्दा पनि राजनीति अस्थिरताबाट उत्पन्न परिस्थितिपछि चिनले नेपाल प्रति बनाउने दृष्टिकोण स्पष्ट पार्नका लागि आएको हुन सक्छ।’
भुसालले आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने दाबी गरे। उनले अदालतले जनताको चाहनानुसार फैसला गर्ने विश्वास व्यक्त गरे।



लोकपाटी न्यूज

