सिपी मैनालीकाे दावी : केपी ओली सिपी बन्न सम्भव हुँदैन

Cp-mainali
लोकपाटी न्यूज

काठमाडौं। मालेका महासचिव सिपी मैनालीले केपी शर्मा ओली दोस्रो सिपी बन्न सम्भव नहुने बताएका छन्। एक अनलाईनलाई अन्तर्वार्ता दिँदै मैनालीले भने, ‛बजारमा दोस्रो सिपी मैनाली यो बन्छ, त्यो बन्छ भन्ने बहस रहेछ। सिपी मैनाली एउटै थियो र एउटै रहन्छ। दोस्रो सिपी मैनाली कोही बन्नै सक्दैन।’

महासचिव मैनालीले ३८ वर्षअघि नेकपा मालेकै नेतृत्वमा रहँदा आफूमाथि लागाइएको ‘तानाशाह’को आरोप निराधार रहेको बताए। उक्त आरोपमाथि मदन भण्डारी, जीवराम आश्रित, मोदनाथ प्रसिदहरूको ‘अविवेकीपन’का कारण आफूले यस्तो आरोप खेप्नुपरेको थियो भन्दै त्यसमा सधैं आफ्नो आपत्ति रहने बताएका छन्। आफूले तत्काली अवस्थामा देशको अवस्था र आवश्यकतालाई हेरेर पार्टीको नीति बनाएको स्मरण गर्दै अल्पमतमा परेंको बताए।

नेता मैनालीले भने, ‛अल्पमतमा परेको मान्छेले महासचिवमा बस्नु हुन्न भनेर मैले राजीनामा दिएँ। मदन भण्डारी, वामदेव गौतम लगायतका नेताहरूले मेरो राजीनामा च्यातिदिए। र, मलाई अनुशासनको कारबाही गरे। मैले लिएका नीतिमा माधव र मदन धेरैजसो चुप बसे। उनीहरू सधैँ मौकाको पखाईमा रहेछन्, त्यो कुरा म अहिले बुझ्दै छु। मलाई त्यतिबेला पार्टीको साधारण सदस्य समेत नरहने गरी निकाल्न खोजेका थिए। त्यसको नेता भण्डारी थिए।’

यस्तै, विं.सं.२०५० पछि ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’को नजिक रहेर काम गरेको उनले बताए। महाकाली सन्धिले ओलीको जिन्दगी नै ‘कायापलट’ गरिदिएको नेता मैनालीले बताए।

सन्धिपछि साधारण किसान परिवारका ओलीको आर्थिक अवस्था एकाएक बढ्यो भन्दै ओलीको सम्पत्तिमाथि आजसम्म कुनै अध्ययन भएको छैन, हुनु जरुरी छ। खैर, भविष्यमा यो हुँदै जाला,मैनालीले भने।

महाकाली सन्धिमा माधवकुमार नेपाल पनि जोडिन्छन् भन्दै उनले दुई दशकअघि नेपालका कम्युनिस्ट नेतामध्य भारतको विश्वासपात्र नेपाल र ओली नै रहेका दावी गरे।