केपी ओलीले नेपालमा फाँसीवादी अभ्यास गर्दैछन्ः देव गुरुङ

deb gurung
लोकपाटी न्यूज

पोखरा। नेकपाका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली फाँसीवादी शैलीमा अघि बढ्न खोजेको आरोप लगाएका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका गुरुङले प्रधानमन्त्री ओलीले निरंकुश फाँसीवादी अभ्यास गरिरहेको बताएका हुन्।

‘प्रतिनिधि सभा विघटन गरेर उहाँले निरंकुश फाँसीवादी अभ्यास गर्दै हुनुहुन्छ’, गुरुङले भने, ‘संकटकाल लगाएर विदेशी सेना भित्राउने बाटो खुल्दैछ।’ साम्राज्यवादी र विस्तारवादी शक्तिले पार्टी विभाजन गरेर र सरकारलाई अलोकतान्त्रिक कदम चाल्न सघाएको नेता गुरुङको आरोप छ।

‘उहाँ (ओली)मा निरंकुश, सर्वसत्तावादी एकाधिकारवादी चिन्तन छ,’ उनले भने, ‘त्यही चिन्तन पाएपछि साम्राज्यवादीलाई ढुंगा खोज्दा देउता पाएजस्तो भयो।’ नेकपा विभाजनमा पुग्नुमा साम्राज्यवादी शक्तिकै खेल भएको गुरुङको दाबी छ।

‘उहाँ (ओली)ले सचेत ढंगले गर्नुभयो कि भएन, म आक्षेप लगाउँदिनँ’, गुरुङले भने, ‘यो चिन्तन भेटाएपछि यस्तो खालको तानाशाही भेटाएपछि साम्राज्यवादीले फुटाउ र शासन गरको नीति लिए।’ पार्टीलाई टुक्राटुक्रा पारिदिने, ध्वंस पारिदिने र मुलुकलाई साम्राज्यवादी आत्मसमर्पणको दिशामा लगेको उनले आरोप लगाए।

सचेत ढंगले नभएको भए पनि ओलीले चालेको कदमले साम्राज्यवादी शक्तिलाई टेवा पुर्‍याउने गुरुङले दाबी गरे। ‘चीनको सन्दर्भमा हेर्ने हो भने नेपालको राष्ट्रिय स्वाधिनताको प्रतिकूल हुने गरी कुनै काम गरेका छैनन्, नेपालको स्वाधिनतामाथि कुनै हस्तक्षेप भएको छैन’, उनले भने, ‘नेपालको स्वाधिनताको रक्षा, लोकतन्त्र र आर्थिक सामाजिक विकासमा नेपाल र चीनको आदर्श र नमूना सम्बन्ध रहेको अवस्था छ।’