फ्रयांकफर्ट। लक्जरी मोडलका सवारी उत्पादक जर्मन कम्पनी बीएमडब्लुले अब विद्युतीय मोडलका गाडीको उत्पादन बढाउने भएको छ। इलेक्ट्रिक सवारीको बढ्दो आकर्षण र विश्व बजारलाई ध्यानमा राख्दै त्यस्ता गाडी उत्पादन बढाउने भएको हो।
आगामी दुई वर्षभित्र विद्युतीय गाडी उत्पादन क्षमता २० प्रतिशतले बढाउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओलिभर जिप्सेले बताएका छन्। ‘विद्युतीय गाडीको उत्पादन संख्या हामीले क्रमिकरूपमा बढाइरहेका छौं। सन् २०२३ सम्ममा दुई लाखभन्दा बढी विद्युतीय गाडी उत्पादन गर्ने योजना बनाएका छौं।’
कम्पनीले सन् २०२३ मा बिक्री गर्न लागेका विभिन्न सिरिजका पाँचौं संस्करणका कारहरुमा विद्युतीय इन्जिन जडान गर्ने योजना रहेको उनले खुलाए। विद्युतीय गाडी उत्पादनका लागि कम्पनीले द्रुत रूपमा चार्जिङ पूर्वाधारको विस्तार गर्ने निर्णय लिइसकेको जनाएको छ।
‘१५ हजार निजी र १३ सय सार्वजनिक चार्जिङ स्टेशन राख्ने काम अघि बढेको छ,’ उनले भनेका छन्, ‘योजना अघि बढाउन केही समय लागेको भए पनि काम अघि बढाइएको छ।’
सन् २०२३ पछि कम्पनीले वर्षको २ लाख २५ हजार वटा इलेक्ट्रिक गाडी बेच्ने लक्ष्य निर्धारण गरेको छ। सवारी उत्पादकमध्ये आफ्ना गाडीका कारण छुट्टै महंगो ब्राण्ड भ्यालु बनाएको बीएमडब्लु विश्वप्रख्यात कम्पनी हो।



लोकपाटी न्यूज

