संसदीय दलमा पनि ओली प्रष्ट अल्पमतमा थिए : झलनाथ खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ‘प्रचण्ड-नेपाल’ पक्षले पार्टीमा संसदीय दलको निर्वाचनका लागि प्रस्ताव नआएको बताएका छन्। शुक्रबार सेतोपाटीसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल संसदीय दलको निर्वाचनका लागि तयार नभएको दाबी गरेका थिए।

तर नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले संसदीय दलको निर्वाचन गर्न तयार भएको भए अहिलेको अवस्था नआउन बताए। ‘त्यस्तो कुनै प्रस्ताव आएको थिएन। संसदीय दलमा निर्वाचन गरौं भनेको भए त ठीक भइहाल्थ्यो नि,’ उनले भने, ‘त्यसमा त उनीहरू हावा खाइहाल्थे नि। दलको बैठक होला कि, भनेर संसद विघटन गर्‍या हो।’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओलीको तर्फबाट संसदीय दलको निर्वाचन गर्ने कुनै प्रस्ताव कहिल्यै नआएको दाबी गरे। ‘त्यस्तो कुनै प्रस्ताव आएको छैन। त्यो सतप्रतिशत गलत हो। प्रस्ताव गरेको भन्ने दाबी एकदमै झुटो हो,’ श्रेष्ठले भने।

स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीका हरेक कमिटी र संसदीय दलमासमेत चरम अल्पममतमा रहेका ओलीबाट कुनै प्रस्ताव नआएको बताए। ‘अहिलेको मुद्दा भनेको प्रतिनिधि सभाको विघटन ठीक हो वा बेठीक भन्ने हो। प्रश्न यहाँ हो। यहिँ छलफल गरौं,’ उनले भने, ‘अरू सबै कुरा गरेर यो प्रश्नलाई ढाकछोप गर्ने प्रयत्न नगरौं।’

प्रधानमन्त्री ओलीका अत्यन्तै विश्वास पात्र मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी विभाजनपूर्व ओली र प्रचण्डलाई सहमतिमा ल्याउन निकै प्रयास गरेको बताएका थिए। त्यसक्रममा प्रचण्ड र नेपालसँग आफूले यस्तो प्रस्ताव राखेको पोखरेलको दाबी छ। तर प्रचण्ड-नेपाल पक्षले ओलीबाट त्यस्तो प्रस्ताव कहिलै नआएको दाबी गरेका छन्।

यसअघि पनि पार्टीभीत्र विवाद बढेर प्रधानमन्त्री ओलीको राजीनामा माग्दासमेत ओली पक्षधरले संसदीय दलको निर्वाचन गर्ने औपचारिक प्रस्ताव राखेको जानकारी बाहिर आएको थिएन। बरू संसदीय निर्वचनअघि प्रधानमन्त्री र महाधिवेशनअघि अध्यक्ष नछोड्ने अडान ओलीले पटक पटक दोहोर्‍याएका थिए। उनी निकट नेताले पनि पार्टीभित्रको अंक गणितका आधारमा ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट हटाउन नमिल्ने जिकिर गर्दै आएका थिए।