सुर्खेत। नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको मतियार भएको आरोप लगाएका छन्। सुर्खेतमा सोमवार आयोजित पत्रकार सम्मेलनमा नेता रिजालले संसदमा प्रयाप्त बहुमत हुँदा हुँदै ओलीले एकलौटी रुपमा संसद विघटन गरेर प्रतिगमनतर्फ गएको आरोप लगाए।
उनले संसद विघटनमा भारतको हात रहेको आशंका व्यक्त गरे। रिजालले भने, ‘दक्षिणतिरबाट यो बीचमा लगातार आएका छन्। केहि देखिने र केहि नदेखिने भ्रमणहरु भारतबाट भएका छन्। कतै त्यसले हाम्रो अन्तरपार्टी संघर्षलाई बढावा दिएको त होइन ? जुन संसदले नेपालको भूमि माथिको अधिकार स्थापित गर्यो र जसलाई यो संसद मन परेको थिएन कतै तिनीहरुकै कारण त यस्तो भएको होइन ?’
चिनियाँ टोली नेपाल आएको प्रसंगबारे उठेको प्रश्न दिँदै उनले चिनियाँ मित्रहरुले नेकपा एकीकृत रहोस भन्ने चाहेको बताए। यसलाई चीनले नेपालको राजनीतिमा खेलेको भन्दा पनि सद्भावका रुपमा लिनुपर्ने उनले बताए। नेता रिजालले पार्टीका सबै कमिटीमा आफ्नो (प्रचण्ड-नेपाल पक्षधर) बहुमत रहेकाले आफूहरुनै आधिकारिक पार्टी हुने दावी गरे।
अर्का केन्द्रीय सदस्य निरज आचार्यले आधिकारिक पार्टी प्रचण्ड-माधव नेपालकै हुने भन्दै अब अब केपी ओलीको चुनाव चिन्ह बयलगाडा र पार्टी कार्यालय बालकोट हुने भन्दै व्यंग्य गरे। उनले सूर्य र नेकपाका कार्यालयमा आफूहरुको दावी रहने बताए। मंगलवार हुने आन्दोलनको तयारीका लागि नेताहरु सुर्खेत पुगेका हुन्।



लोकपाटी न्यूज

