काठमाडौं। नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीले नेकपाका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिरहेको छ। नेकपा अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सँग आज बिहान खुमलटारमा झण्डै दुई घण्टा छलफल गरेको थियो। त्यसलगत्तै उक्त टोली नेपाललाई भेट बानेश्वरस्थित एभरेष्ट होटलमा पुगेको थियो।
आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको चिनियाँ टोलीले उच्चस्तरीय भेटवार्तामा व्यस्त छ। यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो।
नेकपामा विवाद संसद विघटनपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो। भेटको क्रममा नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ। आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएको थियो।
प्रचण्डसँगको भेटमा चिनियाँ टोलीले नेकपाको एकतामा जोड दिएको बुझिएको छ। चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौं आएको हो।



लोकपाटी न्यूज

