संसदीय प्रत्येक निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशको १६५ वटै संसदीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ। शनिबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार प्रदर्शन गर्न लागेको हो।

सम्बन्धित संसदीय क्षेत्रका नेताहरूले प्रदर्शनलाई सम्बोधन गर्ने भएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए। तर, पार्टी सभापति शेरबहादुर देउवाले भने कार्यव्यस्तताका कारण गृहजिल्ला डडेलधुरा गएर आफ्नो निर्वाचन क्षेत्रमा हुने प्रदर्शनलाई सम्बोधन गर्ने छैनन्। उनले भक्तपुरमा हुने प्रदर्शनलाई सम्बोधन गर्ने भएको छ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँको दमौलीमा हुने प्रदर्शनलाई सम्बोधन गर्ने भएका छन्। पार्टीका पदाधिकारीसहित केन्द्रीय नेताहरूले भने आ-आफ्ना निर्वाचन क्षेत्रमा हुने प्रदर्शनलाई सम्बोधन गर्ने सहमहामन्त्री महतले बताए।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने कि नगर्ने भन्ने कांग्रेसमा आन्तरिक विवाद भएको थियो। अन्ततः पार्टी केन्द्रीय समितिले प्रदर्शन गर्ने निर्णय गर्‍यो। पार्टी सभापति शेरबहादुर पक्षधर नेताहरू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसलालाई कुरेर मात्रै प्रदर्शन गर्ने नगर्ने छिनोफानो गर्नुपर्ने पक्षमा थिए।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर नेताहरू सडक अरूले कब्जा गरेपछि प्रदर्शनमा जानुको अर्थ छैन भनेपछि प्रदर्शन जाने निर्णय भएको हो।