चिनियाँ प्रतिनिधिमण्डल प्रचण्ड निवास खुमलटारमा

लोकपाटी न्यूज

काठमाडौं। नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ। प्रचण्ड निवास खुमलटार पुगेर चिनियाँ टोलीले सोमबार बिहान भेटवार्ता गरेको हो।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्वको प्रतिनिधिमण्डलसँग संसद् विघटन र नेकपामा देखिएको विभाजनलगायत नेपालको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको जनाइएको छ। यसअघि हिजो उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो।

भेटमा भएको छलफलबारे भने राष्ट्रपति कार्यालयले खुलाएको छैन। येझोउको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजे काठमाडौं आएको हो। नेकपा विभाजनपछि चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको हो। यसअघि चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी थिइन्। उनले राष्ट्रपति भण्डारी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधव नेपालसँग भेट गरेकी थिइन्।