काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्ति र परिवर्तत नचाहने शक्तिको आडामा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने कदम चालेको बताएका छन्। पूर्वराजदूत लक्की शेर्पासहित शेपा समूदाका अभियान्ताहरुसँग आज साँझ भएको अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चालेको कदम फिर्ता गराउन आन्दोलनमा होमिन आग्रह गरेका छन्।
‘देशलाई समृद्ध बनाउने कोणबाट हेर्दा अहिलेको परिश्थिति अलि जटिल। पार्टीमा विवादबारे छलफल चलिरहेका बेला संसद विघटन गरेपछि अहिले देश ठूलो राजनीतिक संकटमा छ। यसको चुरो कारण भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि आएको परिवर्तन एउटा वर्ग र तप्कालाई मन परेको छैन’’ उनले भने, ‘‘त्यही तत्वहरु र त्यस्ता केही विदेशी शक्ति केन्द्रहरु, जसको पनि इसारामा यो राजनीतिक संकट आएको हो।
प्रचण्डले आफूहरु संघर्षको नयाँ मोर्चामा भएको बताए। उनले भने, ‘‘अहिले हामी सबै ठाउँमा लडिरहेका छौं। निर्वाचन आयोग अदालतमा मुद्दा छ, यो विषयमा छलफल चलिरहेको छ। अर्कोतिर सडकमा जनताले असंवैधानिक निरंकुश कदम खारेज हुनुपर्छ भनिरहेका छन्। हाम्रो पार्टी, काँग्रेस, जसपा लगायत समाजको सवै अंग यो तानाशाही कदम फिर्ता हुनुपर्छ भनेर बोलिरहेका छन्।’’
अन्तरक्रियाका क्रममा अध्यक्ष प्रचण्डले थपे, ‘‘अहिले प्रधानमन्त्री ओलीले जुन कदम चालेका छन्, यसले उनको हार र पतन सुरु भएको छ भने हाम्रो विजययात्रा सुरु भएको छ। कतिपयले उनले जितेको जस्तो कुरा पनि गर्छन्। तर हाम्रो नयाँ अभियान सुरु भयो। फेरि जनतासँग जोडिएर हक अधिकारका लागि लड्ने वातावरण बनेको छ। नेकपामा अहिले कुनै समस्या छैन। झण्डै ७० प्रतिशत केन्द्रीय समिति हाम्रैसँग भएको र सबै प्रदेश र जिल्लामा पनि हामी दुईतिहाइभन्दा धेरै छौं। त्यसैले निर्वाचन आयोगले नाम र चुनाव चिन्ह हामीलाई दिनको विकल्पै छैन। उता गएका कतिपय साथीहरु पनि फर्कनेछन् भन्ने विश्वास छ।’’
हामीले सर्वोच्चप्रति भरोसा गरेका छौं। सर्वोच्चले पनि संविधानको मर्म र भावनाअनुसारै फैसला गर्ने छ भन्नेमा हामी ढुक्क छौं। परिवर्तनका उपलव्धी कुल्चिने, संघीयता, धर्मनिरपेक्षता अपहरण हुने अवस्था सिर्जना भएको छ। त्यसैले सडकबाट खबरदारी गर्ने र तताइराख्ने गर्नुपर्दछ। सडकको आन्दोलनलाई सफलताको उचाइँमा लानुपर्छ, यसले संविधानलाई अझ समृद्ध बनाउन सहयोग गर्छ।’’



लोकपाटी न्यूज

