वीरगंज। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट, कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानु उपयुक्त बिकल्प र अवसर भएको बताएका छन्। सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबण्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको उनले बताए।
नेकपा भित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो। व्यक्ति परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए। थापाले भने, ‘हामी आफैँ देश बनाउन सक्छौँ। राप्रपालाई विश्वास गर्नुस्। हिन्दुराष्ट्र दिन्छौँ, राजसंस्था दिन्छौँ। विकास र समृद्धि दिन्छौँ।’
थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखी विप्लव, काङ्ग्रेस कम्युनिस्ट, मधेशवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको विचार व्यक्त गरे। पार्टीका वरिष्ठ नेता राजीव पराजुलीले मधेश र मधेसी जनताको हक हित र विकासको निमित्त राप्रपा नै आवश्यक भएको बताए।



लोकपाटी न्यूज

