चितवन। नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेलाई भ्रममा पार्न खोजेको आरोप लगाएका छन्। चितवनमा आयोजित भेलामा पाण्डेले जनताको बहुदलीय जनवादको सिद्धान्तको नारा झिकेर ओलीले भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए।
एकता नहुँदा चुनावमा पराजित भएर प्रतिपक्षमा बस्नुपर्ने डरले पार्टीभित्र छलफल नगरी पार्टी एकताको निर्णय गरेको खुलासा समेत उनले गरे। ‘घर छाडेर जानेको घर होइन उसले अर्को घर बनाउने हो’, पाण्डेले भने, ‘ओलीजी घर सर्न खोज्नुभयो उहाँले अर्को बनाउने हो। यो घर र चुनाव चिह्नमा उहाँको दाबा रहदैन।’
उनले प्रधानमन्त्री ओलीलाई पार्टी र चुनाव चिह्नमाथि दाबी गर्ने नैतिक आधार नभएको बताए। आफ्नो समूहमा बहुमत केन्द्रीय सदस्य रहेको आधारमा आधिकारिक रुपमा पार्टी आफ्नो भएको दाबी उनको छ। विगतका राजनीतिक नजिरले बहुमत केन्द्रीय सदस्य हुने नै आधिकारीक पार्टी भएको उनले सुनाए। पाण्डेले नेकपा र चुनाव चिह्न सूर्य आफूहरुको भएको दाबी गरे।
२०५० जनमोर्चा विभाजन, २०५४ को एमाले, २०५८मा कांग्रेस, त्यसपछिको भएको नेकपा माओवादी सहितका मधेशवादी दल विभाजन हुँदा पनि बहुमतपक्षको पार्टी आधिकारिक भएको नजिर स्थापित भएको उनको भनाइ छ। मंगलबार काठमाडौंमा हुने प्रदर्शनमा अधिकतम सहभागी गराउन नेताहरुले निर्देशन दिएका छन्।



लोकपाटी न्यूज

