ओलीले राजनीतिक अभिष्ट पूरा नहुने देखेपछि संसद विघटन गरेः पौडेल

Debendra_Paudel
लोकपाटी न्यूज

पोखरा। नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अभिष्ट पूरा नहुने देखेपछि संसद विघटनको बाटो समातेको बताएका छन्। पोखरामा आयोजित जिल्लास्तरीय भेलामा नेता पौडेलले चुनाव गर्ने नियतसहित प्रधानमन्त्रीले संसद विघटन नगरेको आरोप लगाए।

‘प्रतिनिधिसभा रह्यो भने आफ्ना वरिपरिका मान्छेको सपना, राजनीतिक अभिष्ट पूरा नहुने देखेर संसद विघटन भएकोले यसको विरोध गर्नुपरेको हो,’ उनले भने, ‘हामी चुनावमा जाने अवस्था आयो भने ओली पक्षले एउटा वडा पनि जित्ने सम्भावना रहँदैन।’ प्रधानमन्त्री केपी ओलीले पञ्चायतकालका अञ्चलाधीशले जसरी पार्टी चलाउन खोजेकाले प्रचण्ड-नेपाल एक ठाउँ उभिएको उनको भनाइ थियो।

आफ्ना कर्तुत जोगाउन ओलीले यसअघि २० जनाभन्दा बढीलाई अध्यक्षको प्रस्ताव गरेको पौडेलले दाबी गरे। ‘वामदेवजीलाई दिएको पद संग्रह गर्ने हो भने थुप्रो बन्छ,’ उनले भने, ‘अहिले झन् पूर्वमाओवादीले नाममात्रै टिपाउने हो भने मन्त्री बन्ने अवस्था आयो।’

स्वास्थ्यलाई कारण देखाएर लामो समय सिंहदरबार नगएका प्रधानमन्त्रीले गुटबन्दीमा भने राति १२ बजेसम्म बिताउने गरेको आरोप पौडेलले लगाए। सरकारका राम्रा काममा समर्थन गरे पनि सुशासनको क्षेत्रमा निकै कमजोर भएको उनले बताए। भने, ‘नक्सा ल्याउने बाहेक जनताको अगाडि छाती ठोकेर हाम्रो सरकारले यो-यो काम गर्‍यो भन्न सक्ने अवस्था थिएन।’