चितवनमा संविधानमाथिको आक्रमणविरुद्ध नागरिक प्रतिरोध आन्दोलन

प्रतिकात्मक तस्वीर
लोकपाटी न्यूज

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कमदप्रति चितवनमा नागरिक प्रतिरोध आन्दोलन सुरु गरिएको छ। संघीय संसद विघटनको प्रयासमार्फत् संविधानको मर्ममाथि ठाडो प्रहार भएको ठहर गर्दै चितवनमा नागरिक प्रतिरोध आन्दोलन सुरु गरिएको हो।

नागरिक आन्दोलन, चितवनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानमाथिको आक्रमणविरुद्ध नागरिक प्रतिरोध आन्दोलनमा सहभागी भई संविधान रक्षार्थ भूमिका खेल्न सम्पूर्ण नागरिकलाई आह्वान समेत गरेको छ। नागरिक अभियानको पहिलो दिन आज (आइतबार) साँझ ४ः३० बजे भरतपुरको चौबीसकोठीमा प्लेकार्डसहित् प्रदर्शन हुँदैछ। आगामी दिनमा निरन्तर रचनात्मक विरोध कार्यक्रम जारी रहने विज्ञप्तिमा उल्लेख गरिएको छ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय र गुटगत राजनीतिभन्दा माथि हुनुपर्ने राष्ट्रपति संस्थालाई कठपुतली बनाएर देशको सिंगो संघीय गणतान्त्रिक व्यवस्थालाई असफल पार्ने प्रयास गरेका छन्।
यस्ता कदमहरुको एउटै लक्ष्य देशलाई प्रतिगमनतिर धकेल्ने र अधिनायकवादलाई संस्थागत गर्ने भएको कुरा अब कसैबाट लुकेको छैन।’

‘देशको संविधान निर्जीव कागजको संग्रह मात्रै नभई पुस्तौँपुस्ताको बलिदानी र शहादतको परिणाम पनि हो’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यसलाई कुल्चेर देशलाई आफ्नो निकृष्ट स्वार्थको बन्धक बनाउने अधिकार कुनै पनि व्यक्तिलाई छैन। सरकार प्रमुख र राज्य प्रमुखसमेत कानूनमुनि हुने अहिलेको व्यवस्था २००७ सालदेखिका यावत संघर्ष र आन्दोलनहरुले स्थापित गरेका हुन्। तर राजा महेन्द्र र ज्ञानेन्द्रको झल्को आउने गरी अहिले चालिएका संविधान प्रतिकुल र तजबीजी कदमहरुका लागि प्रधानमन्त्री ओली, अहिलेको सरकार र राष्ट्रपति जवाफदेही हुनैपर्छ।’

‘पुस १२ गते आइतबारदेखि नै चितवनमा विरोधका कार्यक्रम सुरु गर्न र प्रधानमन्त्रीको अवैध तथा प्रतिगामी कदम नसच्चिएसम्म तिनलाई जारी राख्न हामी नागरिकहरु कटिबद्ध छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘यो दबाब कुनै दल वा व्यक्तिको समर्थन वा विरोधसँग कत्ति पनि सम्बन्धित नभई समग्र लोकतान्त्रिक विधिको रक्षार्थ मात्र भएको प्रष्ट पार्न चाहन्छौँ ।’

समाजमा विभिन्न पेशा र व्यवसायमा रहेका १५ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनबारे जानकारी गराएका हुन्। विज्ञप्ति जारी गर्नेमा अनाम किरण, अमर घिमिरे, आविष्कार चापागाइँ, उदय अधिकारी, जीवन क्षेत्री, प्रकाश पन्त, मनोज क्षेत्री, रञ्जना लिम्बु, रामकृष्ण क्षेत्री, विपिन पाठक, सरिता तिवारी, सागर कार्की, सिम्रन काफ्ले, सुमनराज श्रेष्ठ र डा. सुवास बस्नेत रहेका छन्।

Nagarik-Andolan_

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्