तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी गर्ने अभियानको सुरुवात

tarkari
लोकपाटी न्यूज

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडमार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्युआर कोडको प्रयोग गर्ने अभियान सुरु गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

शुक्रबार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरूमा क्युआर कोडबाट भुक्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशैभरका तरकारी बजारमा क्युआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताए । नगदको चलनचल्तीबाट कोभिड–१९ संक्रमण जोखिम बढी भएकाले क्युआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको पनि उनले बताए ।

कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्युआर कोडको प्रयोगकर्ताहरू मासिकरूपमा २०५ ले बढेको गभर्नर अधिकारीले बताए । कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्युआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरूको खर्च घट्ने बताए ।

ब्रिक बैंकिङको लागत क्लिक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरूले क्युआर कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताए । त्यसका लागि बैंकहरूले डिजिटल पूर्वाधार र सुरक्षामा अझ बढी लगानी बढाउनुपर्ने पनि सिइओ दाहालले बताए ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्युआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गरेका हुन् । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विक्रेताहरूलाई निःशुल्क क्युआर कोड वितरण गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्