काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेविरुद्ध सर्वोच्च अदालतमा परेका १३ निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा पनि राजीनामा नदिएको भन्दै प्रश्न उठाए।
प्रधानमन्त्री ओलीले आफूलाई निर्वाचित गर्ने संसद विघटन गर्दै पदबाट राजीनामा नगरेर बदनियत गरेको भन्दै संसद विघटन गर्ने निर्णय उल्ट्याउनका लागि अन्तरिम आदेशको माग इजलाससमक्ष त्रिपाठीले राख्दै त्यस्तो भनेका थिए। उनले नेपालमा र विश्वका अन्य मुलुकका संसदीय अभ्यासमा संसद भंगसँगै प्रधानमन्त्रीले राजीनामा गर्ने गरेको तर्क राखे।
कान्तिपुर दैनिक लेख्छ – संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटन भएसँगै प्रधानमन्त्री पनि कामचलाउ हुने व्यवस्था संविधानमा स्पष्ट छैन र ? भन्दै त्रिपाठीलाई प्रतिप्रश्न गरे।
संविधानको धारा ७७ (ग) मा प्रतिनिधिसभाको सदस्य नरहेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ। प्रतिनिधिसभा विघटन भएसँगै केपी शर्मा ओली प्रधानमन्त्रीबाट मुक्त भएको मानिने भन्दै त्रिपाठीले राष्ट्रपतिले लिखित रूपमा अहिलेको प्रधानमन्त्रीलाई चुनावी प्रयोजनका लागि कामचलाउको जिम्मेवारी दिइएको भनेर वक्तव्य जारी गर्नुपर्ने बताए।
प्रधानमन्त्री कामचलाउ भएपछि दूरगामी असर पार्ने नीति तय गर्ने, निर्णय लिन र नियुक्ति गर्न पाउँदैन। संसद विघटन गरेका प्रधानमन्त्रीले शुक्रबारमात्रै ८ मन्त्री र १ राजमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरे। जसले उनी पूर्णकालीन प्रधानमन्त्री हुन् कि निर्वाचन प्रयोजनको सरकारका कामचलाउ प्रधानमन्त्री भन्ने विवाद सिर्जना गरेको छ।
मन्त्रिपरिषद् विस्तार गर्ने कदमले प्रधानमन्त्री आफैले घोषणा गरेको निर्वाचन हुनेमा आशंका जन्माएको र पूर्णकालीन भएजसरी काम गर्नु गम्भीर विषय भएको त्रिपाठीको भनाइ थियो। ’संसद विघटन गरेर आफै पनि सांसद रहनुभएन। आफू कामचलाउ भएकाले उहाँले मन्त्रिपरिषद् विस्तार गर्न पाउनुहुन्न तर हाम्रो दुर्भाग्य कि उहाँले संविधान छियाछिया पार्नुभएको छ,’ त्रिपाठीले भने, ’तर, मन्त्रिपरिषद् विस्तार गरेर आफ्नो शक्ति बढाइरहनुभएको छ। कुनै मन्त्रालयको काम गर्नुपरे क्याबिनेटमा मौजुदा मन्त्रीलाई जिम्मेवारी दिनुपर्नेमा उहाँले त्यसो गर्नुभएको छैन।’
संसद विघटन गरेको पाँचौ दिनमा मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्री ओलीले आफैंले घोषणा गरेको निर्वाचनमा अरु दलहरूलाई आउने वातावरण नबनाइरहेको भन्दै राजनीतिक र नागरिक समाजका अगुवाले प्रतिक्रिया व्यक्त गर्न थालेका छन्। २०७८ वैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा कसरी हुन्छ अरु दलहरूलाई पनि सहभागी गराउन अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको मन्त्री थप्ने र आफू बलियो भएको देखाउने कदम चुनाव गर्नका लागि हो भन्नेमा आशंका जन्माएको उनीहरूको भनाइ छ।
मुलुक सञ्चालनको जिम्मेवारी वर्तमान प्रधानमन्त्रीकै भए पनि उनका कदम अन्य दलहरूलाई निर्वाचनमा जाने वातावरण बनाउनेतर्फ अग्रसर हुनुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको भनाइ छ। ’अहिलेको परिस्थिति र अवस्था विवादित छ। सरकारले चुनावमा जाने भनेको छ। चुनावमा जान दलहरूलाई तयार पार्नका लागि सबैलाई मैदानमा समान अवस्था हुनुपर्छ। मन्त्रिपरिषद् विस्तारले चुनावको वातावरण बनाउन सहज पा¥यो कि अप्ठ्यारो पार्यो भन्ने प्रश्न हो,’ उनले भने, ’संसद नभएको अवस्थामा सरकार कामचलाउ अवस्थामा हुनुपर्ने हो। सरकार कामचलाउ पनि भइसकेको छैन। यस्तो अवस्थामा विवादित काम काम गर्दा निर्वाचनका लागि सहज वातावरण बनाउँदैन।’
प्रतिपक्षी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने मन्त्रिपरिषद् हेरफेर गर्नु संवैधानिक मर्यादाको उल्लंघन भएको बताउँछन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कामचलाउ (प्रधानमन्त्रीले) मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लंघन गर्नुभयो। अब हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन। बरु न्यायमूर्तिहरूबाट असंवैधानिक कदमलाई सच्याई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु।’
नेकपा (दाहाल–नेपाल पक्ष) का नेता भीम रावलले भने प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गरेर आफूभित्र रहेको स्वेच्छाचारी चरित्र र पदको उन्माद देखाएको प्रतिक्रिया दिएका छन्। ’देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिइ उल्टै निरंकुश शासकझैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्। आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद पर्दाफास गरेका छन्,’ सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्।
प्रधानमन्त्री ओलीका कानुनी सल्लाहकार भने संविधानमा कामचलाउ सरकारको व्यवस्थै नभएको बताउँछन् । ’प्रधानमन्त्री कामचलाउ भन्ने संविधानमा लेखिएको छैन। कसैले भावनामा आएर भन्दैमा कामचलाउ भयो त ?,’ उनको प्रश्न छ। निर्वाचन आयोगलाई घोषित मितिमा चुनाव गराउन निर्देशन दिइएको र सोहीअनुसार भइरहेको तथा सुरक्षा निकायहरूलाई पनि निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रधानमन्त्रीले भनिसकेकाले घोषित मितिमा चुनाव नहुनेबारे आंशका नगर्न उनको आग्रह थियो।



लोकपाटी न्यूज

