काठमाडौं। नेकपाका नेता हरिबोल गजुरेलले विदेशी चलखेल रोक्न नसक्दा नेकपा फुटको स्थितिमा पुगेको बताएका छन्। शनिवार नयाँ वानेश्वरमा पत्रकारहरूसँगको भेटमा नेता गजुरेलले विदेशी चलखेल रोक्न नसक्दा र केपी शर्मा ओलीका कारण नेकपा फुटको स्थितिमा पुगेको बताए।
‘ठुलो जोखिम लिएर एकताको पक्षमा लागेको थिएँ। तर सफल हुन सकिएन,’ उनले भने, ‘पार्टी एकता भएन भने त्यसले अहिलेसम्मका उपलब्धि गुम्छ। हामीले पार्टीलाई एक राख्न सकेनौं। पार्टी फुटमा ओलीमा समस्या देखियो। अनि विदेशी चलखेल पनि रोक्न नसक्दा फुटको अवस्था आइपुग्यो।’
नेता गजुरेलले आफू ओली समूहतिर कहिल्यै नगएको पनि दाबी गरे। उनले भने, ‘म कतै गएको पनि छैन। आएको पनि छैन। हिजो जहाँ थिए त्यहीँ छु। समान दुरीमा बसेर मैले एकता जोगाउन लागेँ। दुवै अध्यक्षको आलोचना र कमीकमजोरीलाई मैले केलाउने काम गरेको हुँ।’
यद्यपि गजुरेलले आफू ठुलो जोखिम लिएर एकताको पक्षमा लागेको र एकताको पक्षमा रहेको पनि बताए। उनले पार्टीमा आफू नयाँ ढंगले अगाडि बढ्ने पनि बताए। उनले भने, ‘प्रचण्डसँग अब नयाँ ढंगले कुरा हुन्छ। म फरक ढंगले चल्छु।’ पार्टी एकतालाई जोड दिँदै पहल गर्दा आफूमाथि बालुवाटारमा मन्त्री खान गएको भनी चलाइएको हल्लाप्रति उनले असन्तुष्टि पोखे।
‘म कहिल्यै गुटबन्दीमा लागिनँ, मैले पार्टीमा पनि अहिले कुरो उठाइ रहेको छु’, उनको गुनासो थियो, ‘विडम्बना के भयो भने यो बिचमा बालुवाटारमा मन्त्री खान गयो भनेर प्रचार गरियो। मैले दुवै अध्यक्षको आलोचना र विरोध गर्दै आएको हुँ। प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि पनि विरोध गरेको हुँ। ओलीलाई दुवै पदबाट हटाउने विषयमा पनि विरोध गरेको हुँ। स्थायी समिति बैठकले गरेका निर्णय कार्यान्वयन नहुँदा पनि केपी शर्मा ओलीको विरोध गरेकै हुँ।’



लोकपाटी न्यूज

