केपी ओलीको असंवैधानिक कदमविरूद्ध आन्दोलन गर्ने नेकपा चितवनको निर्णय

Communist Party Nekapa
लोकपाटी न्यूज

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा चितवन इञ्चार्ज कृष्ण खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित संसद भंगको सिफारिस र पार्टीको एकलौटी बैठक राखेर असंवैधानिक र पार्टी विधानको गम्भीर उल्लंघन गरेको भन्दै त्यसको सशक्त प्रतिकार गर्नुपर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय मदननगर भरतपुरमा चितवन जिल्ला सचिवालय सदस्यहरूलाई निर्देशन दिँदै उनले यसको सशक्त प्रतिकार गर्न आग्रह गरेका हुन्।

खनालले विधि र पद्धतिमा नचल्ने आफूलाई सर्वेसर्वा घोषित गरी संसद बिघटनको सिफारिस गरेर गम्भीर राष्ट्रघात र पार्टी तथा आम कार्यकर्तामाथि गद्धारी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह नै आधिकारिक भएको बताए।

दुई तिहाइ बहुमत पार्टी कमिटीमा जोसँग रहेको छ, त्यही नै मुल पार्टी हुने बताउँदै उनले विगतका नजिर र आफूहरूले पेस गरेका प्रमाणलाई हेरेर निर्वाचन आयोगले निर्णय गर्ने उल्लेख गरे। नेता खनालले संविधानले परिकल्पना नै नगरेको संसद विघटनको सिफारिस अदालतले अवैधानिक फैसला गर्ने बताए।

बागमती प्रदेसका सांसद समेत रहेका खनालले पार्टी केन्द्रीय समितिको निर्णय बमोजिम चितवनका ७ वटा तहमा महानगर, नगर र गाउँपालिका र ती सबै पालिकामा १६ र १७ गते सम्म भेला, कमिटी पुनर्गठन र बैठक बसिसक्नुपर्ने बताए।

अहिलेको लडाइँमा कसले के पायो ? वा के गुमायो ? नभइ विधि पद्धति र ब्यवस्था रक्षाको लडाइँ भएको भन्दै सही बमोजिम अगाडि बढ्न आग्रह समेत गरे। बैठकमा पार्टी केन्द्रीय सदस्य तथा भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले पार्टीलाई सिध्याउन केपी ओली र उनको समूह लागिपरेको बताउँदै संसद विघटन र पार्टी कमिटीको विधान विरोधी गतिविधि यसको ज्वलन्त प्रमाण रहेको बताइन्।

पार्टीको विधान नमान्ने जनताको विश्वासको आधार सार्वभौम सत्ता सम्पन्न संसद हठात बिधटन गरी कथित निर्वाचनको घोषणा गर्नु गैर संबैधानिक र व्यावस्थामाथि कु भयको भन्दै पुस १४ गते काठमान्डौ केन्द्रीत विरोध प्रदर्शन कार्यक्रम चितवनबाट ब्यापक सहभागी गराउन केन्द्रित हुन सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आग्रह गरिन्।

केपी ओली र उनको समूहले गरेको यो जनविरोधी कदमलाई फिर्ता गराउने तागत नेपाली जनताको सशक्त विरोध प्रदर्शनबाट मात्र सम्भव भएको जोड दिँदै विशाल विरोधको आँधीबेहरी सृजना गर्न सम्पूर्ण पार्टी कमिटी, नेता कार्यकर्ता तथा युवा विद्यार्थीलाई आग्रह गरिन्।

बैठकमा जिल्ला अध्यक्ष यमबहादुर परियारले बैठकको आवश्यकता र बदलिदो अवस्थामा गर्नुपर्ने गतिविधिका बारेमा जानकारी गराएका थिए। बैठकमा बागमती प्रदेश सांसद कृष्ण भुर्तेल, पार्वती सिलवाल, सचिवालय सदस्य आरसी अधिकारी, निशा अधिकारी, प्रकास ढुड्गाना, कृष्ण केसीलगायतले आ- आफ्नो धारणा राखेका थिए।