काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक कदमविरुद्ध पुस १३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध पुस १३ गते सोमबार काँग्रेसले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गरेको हो। उनले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि अपिल गरेका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले त्यसमा सकृय सहभागिताका लागि सबैमा अपिल गरेका हुन्। देउवाले भने, संसद विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरुको बैठक आयोजना गरेर बैठकमार्फत् संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली काँग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।
जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णय गराएको देउवाको भनाइ छ। उनले अहिले काँग्रेसको सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको पनि देउवाले जानकारी दिए ।




लोकपाटी न्यूज

