ओलीको कदम, देउवालाई अवसर, पौडेलको टाउको दुखाई

kp oli and deuba
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएपछि देशको सिंगो राजनीतिलाई त्यसले तरङ्गित पारेको छ। नेपाली काँग्रेसभित्र ओलीको कदमपछि कसरी जाने भन्नेबारे चर्को बहस छ। सभापति शेरबहादुर देउवा मध्यावधि चुनावको तयारीमा लागिहाल्नुपर्ने पक्षमा छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल संसद विघटनको विरोधमा आन्दोलनमा जानुपर्ने पक्षमा छन्।

देउवाले संसद विघटन र वैशाखमा तोकिएको मध्यावधि चुनावलाई राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्न थालेका छन्। आगामी वर्षको सुरुमै महाधिवेशन गर्नुपर्ने बाध्यता देउवालाई छ। मध्यावधि चुनाव भएमा महाधिवेशन सर्ने र टिकट बाँडफाँड आफैले गर्न पाइनेमा देउवाको ध्यान छ। उनी पक्षधर नेताहरूले मध्यावधि चुनावको तयारीमा जानुपर्नेमा जोड दिइरहेका छन्। केन्द्रीय सदस्यहरू एनपी साउद, डा. नारायणका खड्काका अलावा उपसभापति विमलेन्द्र निधि पनि चुनावमा केन्द्रित हुनुपर्ने सार्वजनिक रूपमा बोल्दै आएका छन्।

देउवालाई काँग्रेसको १४ औँ महाधिवेशन सजिलो छैन। पार्टीलाई कमजोर बनाएको र प्रमुख प्रतिपक्षी दलको नेता हुँदा पनि कमजोर भूमिका प्रदर्शन गरेको आरोप छ। यसअघि भएको चुनावमा काँग्रेस कमजोर हालतमा पुगेको अपजस पनि देउवालाई छ। कमजोर अवस्थामा रहेका देउवाले महाधिवेशनलाई एक वर्ष पछाडि धकेलिसकेका छन्। यस पटक चुनावकै बहानामा धकेल्न पाउने अवस्था छ। त्यसैले उनले ओलीको कदमलाई मौकाका रूपमा लिन थालेका छन्।

ओलीसँग देउवाले भित्री सहमति गरेर अगाडि बढेको विश्लेषण नभएको होइन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तलगायत केही संवैधानिक पदहरूमा देउवाको चाहना अनुसारका केही मान्छे सिफारिस भएका छन्। यसले पनि देउवाको ओलीसँग राम्रो ट्युनिङ मिलिरहेको बताइन्छ। देउवाले ओलीसँग भित्री सम्झौता गरेको तथ्यहरू खुल्दै गएको छ। त्यसैले उनी ओली सरकारविरुद्ध आन्दोलन होइन सम्झौता गर्दै बढ्ने रणनीतिमा छन्।