नेकपाका सचिवालय सदस्यको बैठक पेरिसडाँडामा जारी

Prachanda_Nepal
लोकपाटी न्यूज

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। बैठकमा पार्टी संगठनका विषयमा छलफल भइरहेको बताइएको छ।

बैठकमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको घोषित कार्यक्रमअनुसार आज शनिवार प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुनेछ भने भोलि आइतबर ७७ वटै जिल्लामा कार्यकर्ता भेला हुनेछ।

भेलाले प्रतिगमनविरुद्ध संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय समिति बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको थियो।

प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद् विघटनविरुद्ध आन्दोलन गर्न २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाइएको थिए। संसद् ज्युँदै छ भन्ने सन्देश दिन शुक्रबार नेकपाको प्रदर्शन माइतीघर मण्डलाबाट निर्वाचन आयोगमा पुगेको थियो।

पार्टी एकतालाई कमजोर पार्न खोज्ने र कुशासनमा धकेल्न खोज्ने सबै प्रकारका गतिविधिविरुद्ध एक भएर एकतालाई सुदृढ बनाउन प्रतिनिधिसभाको विघटनको घोषणा र प्रतिगामी षडयन्त्रविरुद्ध कार्यक्रम गर्ने उद्घोषसहित यो समूहले पहिलो चरणका कार्यक्रमको सार्वजनिक गरेको थियो। अध्यक्ष प्रचण्डले आन्दोलनका क्रममा नेपाल बन्दसम्म हुनसक्ने बताएका थिए।

यस्ता छन् नेकपाका आन्दोलनका कार्यक्रम

-पुस १० गते बिहान साढे ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटीका सदस्य र पार्टीको तर्फबाट सांसदमा रहेका सांसदको उपस्थितिमा विशेष कार्यक्रम,
-पुस १० गते राजधानीमा पार्टी अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन हुने। २ बजे पत्रकार सम्मेलन हुनेछ। स्थान भने तय भएको छैन,
-पुस ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने। सात दिनभित्र प्रदेश कमिटीको बैठक गर्ने,
-पुस १२ गते ७७ जिल्ला स्तरीय कार्यकर्ता भेला हुने। उक्त भेलामा एकीकृत पार्टीलाई कसरी अगाडि बढाउने र एकताविरुद्धका भ्रमलाई कसरी चिर्ने र प्रतिगामी कदमविरुद्ध कसरी संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम,
-पुस १४ गते राजधानी र जिल्ला-जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध कार्यक्रम,
-पुस २० गतेसम्म नगरपालिका र गाउँपालिकामा बैठक,
-पुस २५ गतेसम्म वडा स्तरमा कार्यक्रम,
-पुस १४ सम्ममा जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र भेला,
-राजधानीमा यो बीचमा पनि विभिन्न स्थानीय कार्यक्रम हुने,
-संघर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्य रहेको केन्द्रीय समिति बनेको छ। केन्द्रीय समितिको सचिवालय समेत बनेको छ,
-प्रदेश सम्बन्धी स्थायी कमिटी सदस्यलाई तत्काल पार्टीका संघर्षको कार्यक्रममा जुटेर आआफ्नो क्षेत्रमा जान निर्देशन,
-केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको जिम्मेवारीका विषयमा स्थायी कमिटीले नै आवश्यक निर्णय लिनसक्ने अधिकार दिइएको छ।