काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता महेश बस्नेतले आफ्नो समूहले केन्द्रीय समितिको विस्तार नगरेको बताएका छन्। पोखरामा पत्रकारसँगको भेटमा नेता बस्नेतले प्रधानमन्त्री ओलीले केन्द्रीय समिति विस्तार नगरेको बताएका हुन्। उनले केन्द्रीय समितिमा थप भएका भनिएका सदस्यहरू महाधिवेशन आयोजक समितिमा रहेको प्रष्टीकरण दिए।
यद्यपि महाधिवेशन आयोजक समितिको हैसियत केन्द्रीय सदस्य सरहकै रहेको उनको भनाइ थियो। ‘केन्द्रीय समिति विस्तार भनेर केही भ्रम रहेको पाइयो। यसमा पनि प्रस्ट पार्ने देखियो। हामीले विस्तार गरेको केन्द्रीय समिति होइन। महाधिवेशन सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो। यद्यपि यसका सदस्यको हैसियत केन्द्रीय समितिकै सदस्यको जस्तै भने हुन्छ। ’ उनले भने।
नेता बस्नेतले अहिलेको केन्द्रीय समितिलाई ‘एउटा घर भत्काएर अर्को नबन्दासम्म कामचालाउ रूपमा बनाइएको झुप्रो जस्तै’ भनेका छन्। उनले घर रुपी केन्द्रीय समिति भने सानो आकारको हुने दाबी गरे। महाधिवेशनले दुई सय देखि दुई सय ५० जनाको केन्द्रीय समिति हुने उनको विश्लेषण छ।
‘हामीले घर बनाउन सुरु गर्दा पुरानो घर भत्काइन्छ। नयाँ घर बनिसकेको हुँदैन। त्यति बेला पनि बस्न त पर्छ नै। त्यति बेला बस्न यसो छेउमा बनाएको झुप्रो जस्तै हो अहिलेको मूल आयोजक समिति।’ उनले भने,‘अधिवेशन पछि बन्ने केन्द्रीय समिति सानो दुई सय देखि दुई सय ५० सदस्यसम्मको बन्छ।’
प्रधानमन्त्री ओली समूहको गत मंगलबारको भेलाले केन्द्रीय समिति सदस्यको संख्या विस्तार गरेर १ हजार १ सय ९९ सदस्यीय बनाएको थियो। पार्टीको एकता महाधिवेशन २०७८ मंसिर २ मा गर्ने निर्णय समेत गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले ५ सय ५६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेर अहिलेको ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीलाई १ हजार ३ सदस्यीय बनाएको थियो।



लोकपाटी न्यूज

