काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा स्वेच्छाचारी चरित्र र पदको उन्माद कति छ भन्ने कुरा आफै पुष्टि गरेको बताएका छन्। देश र संविधानमाथि घात गरेर चुनावको मिति तोकेका ओलीले आफ्नो गल्ती स्वीकारेर राजीनामा दिनुको सट्टा मन्त्रिपरिषद्को विस्तार गरी स्वेच्छाचारी चरित्रको पुष्टि गरेको नेता रावलको भनाई छ।
उनले सामाजिक सञ्जालमार्फत ओलीले निरंकुश शासक झैँ मन्त्रिपरिषद् विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए। संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले देश, जनता, पार्टी र संविधानमाथि घात गरेको उनको भनाई छ। यस्तो अवस्थामा राजीनामा दिनुको सट्टा निरंकुश शासक बन्ने दौडमा ओली अगाडि बढेको नेता रावलको आरोप छ।
उनले लेखेका छन्, ‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासक झैँ मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेका छन्।’




लोकपाटी न्यूज

