काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका नेता सोनम साथी (शशी शेरचन)को निधनप्रति दुःख व्यक्त गरेका छन्। पार्टीका राष्ट्रिय सल्लाहकार परिषदका सदस्य स्वनाम साथी (शशी शेरचन) को शुक्रबार राति ९ः३० बजे मोडल अस्पताल, काठमाडौंमा असामयिक निधन भएको खबरले दुखित् तुल्याएको बताएका हुन्।
प्रचण्डले शोक वक्तव्यमा उल्लेख गरेका छन्,‛ संभ्रान्त परिवारमा जन्मेर पनि विद्यार्थी जीवनदेखि नै सर्वहारा वर्गको मुक्ति लागि सम्पूर्ण जीवन अर्पण गर्नुभयो। कमरेड स्वनामले २०२५ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो। २०३३ सालमा उहाँकै नेतृत्वमा सर्वहारा कम्युनिष्ट लीग गठन भयो। २०३८ सालमा सर्वहारा श्रमिक संगठन नेपाल निर्माण गरी उहाँले किसान आन्दोलन चलाउनुभयो। कमरेड शेरचनको आदर्शपूर्ण पक्ष नै आन्दोलन प्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जली थियो। उहाँका यिनै आदर्श कम्युनिष्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन्।’
प्रचण्डले स्वनाम साथीप्रति क्रान्तिकारी अभिवादनसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। सोनाम साथीको जन्म विं.सं. २००७ साल श्रावण १७ गते म्याग्दी जिल्लाको दर्वाङ–२ हाल मालिका गाउँपालिका रातो ढुंगामा बुबा नयन्त्र प्रसाद शेरचन र आमा सुनकुमारीको कोखबाट भएको थियो।




लोकपाटी न्यूज

