मन्त्रीको सपथमा सभामुख : प्रतिनिधिसभा बिघटन नभएको प्रमाण !

cabinet_reshuffle_4_rCzvSylAZf
लोकपाटी न्यूज

काठमाडौं। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल थप तथा हेरफेर गरेका छन्। नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिको कार्यालयमा सपथ खुवाइयो। सो सपथग्रहण समारोहमा राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पनि पुगेका थिए।

नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएको समारोहमा प्रधानमन्त्रीको ओलीको दायाँतर्फ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना उभिएका थिए भने बायाँतर्फ विघटन गरिएको प्रतिनिधि सभाका सभामुख। सपथ ग्रहण समारोहको सो तस्वीर बाहिरिएपछि संसद भंग गरिएपछि पनि अग्नि सापकोटा कसरी शीतल निवास पुगे भनेर धेरैलाई आश्र्चर्य लागेको छ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख सम्बन्धी व्यवस्था छ। सो धाराको उपधारा ६ मा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त अवस्थाबारे उल्लेख छ। जसअनुसार प्रतिनिधिसभा विघटन भए पनि आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् भन्ने व्यवस्था गरिएको छ।

सोही संवैधानिक प्रावधान अनुसार शुक्रबार भएको मन्त्रीहरुको सपथ समारोहमा सभामुख अग्नि सापकोटाले सहभागिता जनाएका हुन्।

प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका छन्। मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसिएको छ।

प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन्।

जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी छन भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन्। त्यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने यसअघि स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा पुगेका छन्।

कृष्णगोपाल श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा पद्मा अर्यालले कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी पाएकी छन्। शिवमाया तुम्वाहांफे कानुनबाट भुमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पुगेकी छन्।