काठमाडौं। सर्वोच्च अदालतले संसद् विघटनको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै एमिकस क्युरी मगाउने आदेश गरेको छ। संवैधानिक इजलासमा भएको सुनुवाइपछि अदालतले विज्ञहरूको राय बुझ्नका लागि एमिकस क्युरी मगाउने आदेश गरेको हो।
शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासमा १४ वटा रिटमाथि सुनुवाइ भएको थियो। मुद्दामा थप छलफल आवश्यक भएको भन्दै सर्वोच्चले नेपाल बार एसोसिएसन र सर्वोच्च बारबाट एमिकस क्युरी मगाउने भएको छ। दुवै बारबाट तीन-तीन जनाको एमिकस क्युरी मगाउने प्रस्ताव गरिएको छ।
एमिकस क्युरी भनेको के हो ?
एमिकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो। इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषय विज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ।
सामान्यतया एमिकस क्युरी भनेको सामान्य भाषामा अदालतको सहयोगी विषय ज्ञाता हो। कुनै पनि जटिल विषय ठहर गर्नुपर्ने प्रश्न समावेश भएको मुद्दा इजलाससम्म आइसकेपछि इजलासले कहिलेकाहीँ के विचार गर्छ भने दुवै पक्षका तर्कहरू बलवान रहेका छन्।
अदालतले कानून व्यवसायीहरूको छाता सङ्गठन बारसँग अनुरोध गर्छ। त्यसपछि स्वतन्त्र रूपमा जटिल भएको विषयमा ज्ञान राख्ने वरिष्ठ अधिबक्ताहरुलाई अदालतमा निम्न मितिमा उपस्थित गराइदिनुहोला भनी अदालतले कागजपत्र पठाएर अनुरोध गर्छ। सो बमोजिम सर्वोच्च बार र नेपाल बारबाट तीन तीन जना वरिष्ठ अधिवक्तालाई अदालतमा राय राख्नेछन्। उनीहरूको राय समेतलाई मध्यनजर गर्दै अदालत एउटा निष्कर्षमा पुग्ने गर्दछ।




लोकपाटी न्यूज

