गोर्भाचोभले सोभियत संघ सिध्याए, केपी ओलीले नेपाल बिघटन गर्न खोज्दैछन् : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन्। ओलीले गणतन्त्रबारे फरक मत राखेको प्रशंग उल्लेख गर्दै नेपालले तत्कालीन एमालेमा राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरू त्यसको साक्षी रहेको बताए।

गोर्भाचोभले सोभियत संघको आन्दोलन र कम्युनिस्ट आन्दोलनलाई सिध्याए झैँ ओलीले पनि नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउन लागिपरेको नेता नेपालले बताए। ‘कम्युनिस्ट आचरण, विचार शैली तौरतरिकाबाट उहाँ विचलनको बाटोमा, पतनको बाटोमा जानुभयो,’ उनले भनेका छन्, ‘अनि मैले सम्झे, हाम्रो देशमा गोर्भाचोभको जन्म हुन त गइरहेको छैन। गोर्भाचोभले सोभियत संघको आन्दोलनलाई र कम्युनिस्ट आन्दोलनलाई सिध्याए। हेर्दै जानुहोला केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई एक दिन सिध्याउनु हुन्छ। अहिले त उहाँ कम्युनिस्ट आन्दोलन कमजोर पार्न जुट्नु भएको छ।’

उनले अगाडि भनेका छन्, ‘उहाँलाई गणतन्त्र प्रति पनि कुनै अपनत्व बोध छैन। गणतन्त्र विरोधी मान्छे हो। यहाँ पूर्वएमालेका हामी साची छौँ। उहाँ नेपालमा गणतन्त्र आउन सक्दैन भनेर फरक विचार राख्ने मान्छे हो। उहाँ संघीयताको पनि विरोधी हो। लोकतन्त्रका मूल्य मान्यतालाई धज्जी उडाइदिनु भयो।’

शक्तिले मान्छेलाई आर्थिक रूपमा कसरी भ्रष्ट बनाउँछ वा अन्य हिसाबले कसरी अहंकारी बनाउँछ भन्ने ओली जिउँदोजाग्दो उदाहरण भएको उनले बताए। उनले भने, ‘पदमा पुगेपछि विनम्रता चाहिन्छ। त्यसबाट उहाँ च्युत हुनुभयो। उहाँमा अहंकार पैदा भयो। उनले भने। मान्छेलाई पावरले आर्थिक रूपमा भ्रष्ट बनाउँछ। अहंकारी बनाउँछ। त्यसको जिउँदोजाग्दो उदाहरण केपी ओली हुनुहुन्छ।’