लुम्बिनी प्रदेश सरकार पनि केही दिनमा ढल्छ : ओनसरी घर्ती

Onsari-Gharti-1
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अघोषित विभाजनको अवस्थामा पुगेपछि त्यसको असर प्रदेश सरकारमा पर्न थालेको छ। नेकपा विभाजनको पहिलो असर बागमती प्रदेश सरकारमा देखिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा आज अविश्वास प्रस्ताव दर्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको असर प्रदेशसभा देखिन थालेको अनुमानकाबीच पौडेलविरुद्ध अविश्वास प्रस्ताव आएको हो। योक्रम क्रमशः अरू प्रदेशमा पनि देखिने अनुमान छ। नेकपा विभाजन भएपछि सबै प्रदेशका सरकार हेरफेर हुने गरी नेकपामा तयारी भइरहेको बताइएको छ।

नेकपा लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले लुम्बिनी प्रदेश सरकार हेरफेर हुने बताइन्। उनले भनिन्, ‘प्रधानमन्त्रीले केही बाँकी नराखेपछि अब लुम्बिनी प्रदेश सरकार पनि हेरफेर हुन्छ र अन्य प्रदेशमा पनि सरकार हेरफेर हुन्छ। अहिले लुम्बिनी प्रदेशका इन्चार्ज तथा ओली पक्षका नेता शंकर पोख्रेल मुख्यमन्त्री छन्।’

पार्टी विभाजनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन्। ८७ सदस्यीय प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रधानमन्त्री ओली अर्थात् मुख्यमन्त्री पोखरेलको पक्षका ३५ र अर्का अध्यक्ष प्रचण्ड र नेपाल पक्षका २६ सांसद छन् भने काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एक सांसद छन्।

प्रदेश सभामा तत्कालीन एमालेले ४१ सिट जितेकोमा ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद थिए। तत्कालीन माओवादीले २० सिट जितेको थियो। गृहमन्त्री रामबहादुर थापा बादलनिकटका दुई सांसद अहिलेसम्म कतै खुलेका छैनन्।

पोख्रेल बच्न वा सरकार ढाल्न काँग्रेस, जसपा र जनमोर्चाका सांसदमध्येको साथ चाहिने छ। तर, अध्यक्ष घर्तीले अब सबै प्रदेशमा सरकार हेरफेर गर्ने बताइन्। उनले भनिन्, ‘हामीले यस्तो अवस्थाको कुनै कल्पना गरेका थिएनौं तर प्रधानमन्त्रीले यो परिस्थिति सिर्जना गर्नुभयो। अब सरकार, पार्टी सबैको संरचना परिवर्तन हुनु स्वाभाविक हो।’