‘नेकपाको आधिकारिकता प्रचण्ड-नेपाल पक्षले पाउँछ’

Prachanda_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अघोषित रुपमा विभाजन भइसकेको छ। नेकपाका दुवै समूहले नेकपा नाम, सूर्य चिन्ह र हसिया हथौडाको झण्डाका लागि निर्वाचन आयोगमा दाबी दर्ता गराएका छन्। पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका चार जनामध्ये अहिले ३१५ जना केन्द्रीय सदस्यहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षमा छन्।

पार्टी वैधानिकता पाउन केन्द्रीय समितिमा बहुमत आवश्यक पर्छ। पार्टी विभाजनका लागि केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य चाहिन्छ। ओली समूहलाई पार्टी फुटाउन आवश्यक संख्यासमेत अपुग छ। संसद विघटन भइसकेको अवस्थामा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउन नसकेविभाजन नहुने र निर्वाचन आयोगबाट बैधता समेत प्राप्त गर्ने छैन।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले पाउने दाबी गरेका छन्। अहिलेको कानुनी व्यवस्था र पार्टी भित्रको विवादको अवस्थाका आधारमा नेकपाको नाम, झण्डा र चुनाव चिन्ह प्रचण्ड-नेपाल पक्षले पाउने उनको भनाइ छ।

‘निर्वाचन आयोगमा पार्टी एकिकरणपछि बुझाइएको नामावलीका आधारमा बहुमत जुन पक्षमा छ, त्यसैलाई निर्वाचन आयोगले आधिकारिकता दिनुपर्ने हुन्छ,’ वरिष्ठ अधिवक्ता भट्टराईले भने। उनले यसमा कुनै दुविधा हुनुपर्ने अवस्था नभएको, कानुनी व्यवस्था र नेकपाको अहिलेको अवस्था हेर्दा प्रचण्ड-नेपाल पक्षनै आधिकारिक नेकपा हुने बताए।