बादलको संकेत : संसद् ब्यूँतिँदैन, चुनाव पनि हुँदैन

Ram-bdr-thapa Badal
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर वैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरेका छन्। तर, उनका समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री ओलीसँगको सहकार्य गर्नपुग्नु भनेको संसद् नब्यूँतिने र चुनाव पनि नहुने संकेत भएको अड्कलबाजी भइरहेको छ। नेकपाका एक नेताले भने, ‘थापाको ओलीसँगको सहकार्य संसद् पुनस्थाप हुँदैन भन्ने सन्देश हो।’

थापासँग लामो समय काम गरेका नेकपा (प्रचण्ड-नेपाल)का एक स्थायी समिति सदस्य भन्छन्, ‘संसद् पुनस्थापना हुन्छ भन्ने लागेको भएको भए थापाले सम्भवतः ओलीको साथ दिँदैनथे। संसद् पुनस्थापना नहुँदा आफूहरूको कदम संवैधानिक थियो भन्ने राजनीतिक आधार बन्न सक्ने थापाको आकलन देखिन्छ।’ यो मुद्दा सर्वोच्च अदालतमा छ।

थापानिकट मानिने तर अहिले प्रचण्ड-नेपाल पक्षमा रहेका ती नेताले थापाले ओलीसँग सहकार्यको हात बढाएर वैशाखमा चुनाव हुँदैन भन्ने सङ्केत गरेको विश्लेषण सुनाए। कसरी ? उनले भने, ‘थापाको अहिलेको कदम राजनीतिक रूपमा स्वाभाविक र प्राकृतिक देखिँदैन। आफ्ना सहकर्मी सबैले असहयोग गर्दा पनि उनी ओलीसँग सहकार्यको तहमा पुगे। थापा वैशाखमा चुनाव हुँदैन भन्नेमा ढुक्क छन्।’ राष्ट्रियसभा सदस्य रहेकाले थापाका लागि प्रतिनिधि सभाको चुनावको अन्य नेताहरूलाई जति महत्त्वपूर्ण छैन।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरे पनि नेकपा विभाजित भएको छ। नेकपाको कारबाही गरेपछि ओली समूह बाहिरिएको छ। पूर्वमाओवादीबाट गृहमन्त्री बनेका थापा पार्टी विभाजित भएपछि अहिले ओली समूहमा खुलेका छन्। लामो मन्थन र परामर्शपछि उनी ओली पक्षमा खुलेका हुन्। उनले पार्टी अनौपचारिक रूपमा विभाजन भएपछि पनि केहि दिन नियालिरहेका थिए।