ओलीसँग पार्टी चलाउनसक्ने क्षमता नै छैन : लिलामणि पाेखरेल

Lilamani-Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा स्थायी समिति सदस्य लिलामणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी चलाउन सक्ने क्षमता नभएको बताएका छन्। शुक्रबार प्रचण्ड-माधव पक्षको पेरिसडाँडा विशेष प्रदेशका नेताहरुको अनौपचारिक छलफलमा बोल्दै पोखरेलले यस्तो बताएका हुन्।

नेता पोखरेलले भने, ‘भदौ २६ सम्म उहाँले गुटबन्दी गर्नुभयो। उहाँसँग पार्टी चलाउने क्षमता नै रहेनछ। उहाँले बैठकको नेतृत्व गर्न नि सक्नुहुँदो रहेनछ।’

पोखरेलले केपी ओली समूहले संघीय समाजवादीका सांसदलाई अपहरण गरेका थिए भन्दै ओलीले पाँच करोडमा सांसद खरिद गर्न खोजेको प्रमाण आफूहरुसँग रहेको बताए।

उनले भने, ‛संघीय समाजवादीका सांसदलाई पाँच करोडको प्रलोभन दिएपछि पनि समाजवादीका नेताहरुको सचेत प्रयत्नका कारण ओलीको प्रयास सफल भएन।’

नेता पोखरेलले ओली संसदमा नआउने, बैठक छल्ने काम गरिरहेको बताउदै ओलीलाई पार्टीको नीति, पद्धतिप्रति कुनै जानकारी नै नभएको दावी गरे। असारमा निर्वाचन आयोगका प्रमुखलाई फोन गरेर नेकपा एमाले दर्ता गर्न ओलीले आदेश दिएका कुराको प्रमाण आफूसँग भएको भन्दै पोखरेलले वामदेव गोतमले प्रमाण पेश गरिसकेका बताएका थिए।

नेता पोखरेलले भने, ‛हामीले एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति लिएका थियौं। तर, हामीले त्यसबारे कुरा उठायौं। तर, कमरेड केपी मान्नुभएन।’