काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वमा रहेको पार्टी आधिकारिक नेकपा भएको बताएका छन्। नेता भट्टराईले सूर्य चिन्ह र हसिया हथौडाको झन्डा आफूहरुको भएको बताएका हुन्।
शुक्रबार बिरोध प्रर्दशनपछि काठमाडौंको कान्तिपथ स्थित निर्वाचन आयोग अगाडिको कोणसभामा उनले संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफूहरु भएको दावी गरे। पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका चार जनामध्ये अहिले ३१५ जना केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेको भट्टराईको भनाई थियो।
उनले प्रतिनिसभा पुनः स्थापना नहुदासम्म र नेकपाका नेता बालुवाटारमा नबस्दासम्म आन्दोलन जारी रहने बताए। निर्वाचन सबैधानिक आयोग भएकोले तलमाथि गर्न नपाउने समेत बताए। उनले भने,‘यो सूर्य चिन्ह, यो हसिया हथौडा झन्डा हाम्रो हो।’ भट्टराईले आफूहरु संविधानको सर्वोच्चता, प्रतिनिधिसभा पुनर्गठनको पक्षमा रहेको पनि बताए।
उनले संसद् जीवित रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई संसद् बैठक बोलाउन पनि आग्रह गरे। नेकपा प्रचण्ड-माधव नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेर देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति पनि गठन गरिसकेको छ।



लोकपाटी न्यूज

