प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो। प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ। सामान्यतया मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्दै आएको छ।

यसअघि आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद बैठक राखेर ओलीले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी छन्।

संसद विघटन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। ओलीले संसद विघटन गरेकोमा आपत्ति जनाउँदै प्रचण्ड-नेपाल पक्षका सात मन्त्रीहरुले संयुक्त रुपमा राजीनामा दिएका थिए।

ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री वर्षमान पुन, खानेपानी मन्त्री विना मगर, श्रम तथा रोजगार मन्त्री रामेश्वर रायले आइतबार अपराह्न संयुक्त रुपमा राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्