हामी प्रचण्ड-नेपालसँग मिल्छौं : गोपाल किराँती

gopal-kirati maoist
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन्। नेकपाबाट प्रधानमन्त्री केपी शर्मा ओलीको समूह छुट्टिएर गएपछि अब प्रचण्ड-नेपालसँग सहकार्य गर्न आफू तयार रहेको बताएका हुन्।

किराँती यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेका तत्कालिन माओवादी पार्टीमा थिए। तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएपछि किराँतीले छुट्टै पार्टी गठन गरेका थिए। योबीचमा किराँती नेतृत्वको माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी लगायतका कम्युनिष्ट पार्टीसँग एकता गर्ने जनाएको थियो।

तर, फेरि किराँतीले गणतन्त्र रक्षार्थ प्रचण्डसँग सहकार्यका लागि तयार रहेको बताएका हुन्। हाल ओलीले संसद् विघटन गरेपछि नेकपा अघोषित विभाजन भएको छ। पार्टी वैधानिकताका लागि अहिले दुवैपक्षले संघर्ष गरिरहेका छन्। प्रचण्ड-नेपालसँग पार्टीका हरेक समितिमा बहुमत छ। ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल पक्षले सडक संघर्षको तयारी थालेको छ। आजबाट प्रदर्शन थाली सकेको छ।

यता किराँतीले पनि ओलीको असंवैधानिक कदमको प्रतिरोधमा सडक आन्दोलनको आँधीवेहोरी खडा गर्नुपर्ने र त्यस दिशामा आफ्नो पार्टी सक्रियतापूर्वक लागिसकेको जनाएका छन्। ओलीको कदमको प्रतिरोधमा प्रचण्ड-नेपाल पक्षसँग तालमेल र सहकार्यको सम्भावनाबारे सोधिएको प्रश्नमा जवाफ दिँदै किराँतीले भनेका छन्, ‘नेकपाले पार्टीबाट ओलीलाई कारवाही गरी निष्काशन गर्छ भने जनतन्त्रको रक्षार्थ प्रचण्डसँग सहकार्य गर्न सकिन्छ।’