माइतीघरबाट नेकपाको प्रर्दशन निर्वाचन अयोगतिर

sadakma pm
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधि सभा विघटनविरूद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ। शुक्रबार बिहान उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित नेताहरू माइतीघरमा सडकमै बसेका थिए।

उनीहरूले छातीमा ‘हामी यहाँ छौं’ लेखिएको कागज टासेका थिए। माइतीघरको प्रदर्शन सकेर उनीहरू अहिले निर्वाचन आयोगतिर लागेका छन्। उनीहरूले ‘हामी अरू जान्दैनौं, संसद विघटन मान्दैनौं’ को नारा लगाइरहेका छन्। प्रचण्ड र नेपाल आजै सर्वोच्च अदालतमा पनि जाने कार्यक्रम छ।

संसद विघटनको विरुद्धमा उभिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड पक्ष औपचारिक रुपमा सडक आन्दोलनमा उत्रिएको पहिल दिन हो शुक्रबार। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड-माधव पक्षले ‘संघर्ष समिति’ नै गठन गरेर आन्दोलनमा उत्रिएका नेकपाका नेताहरुको छातीमा लेखिएको नारामा धेरैको ध्यान गयो।

केहीदिन अघि आफू पक्षीय संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले संसद जीवितै रहेको बताएका थिए। त्यसलाई पुष्टि गर्दै सांसद र केन्द्रीय सदस्यहरुले आफूहरु संसद, सडक सबैतिर बहुमतमा रहेको सन्देश दिन खोजेका हुन्। ‘बहुमत हामीसंग छ, संसदीय दलमा होस् वा केन्द्रीय कमिटीमा। त्यसैले संसद मरेको छैन, हामी मरेका छैनौं’, प्रचण्डले भनेका थिए।

उनले हामी जीवितै छौं भनेर सर्बोच्च अदालतमा पनि जाने बताएका थिए। प्रचण्डको त्यही अभिव्यक्तिको निरन्तरता नै माइतीघर प्रदर्शनको नारा बन्यो। प्रचण्ड नेतृत्वको नेकपाले सरकारलाई मात्रै नभएर अदालत र निर्वाचन आयोगलाई समेत आफूहरुसँग रहेको बहुमत देखाउन यस्तो नारा तय गरेको हो।

‘बहुमत कता छ भन्ने सरकार, निर्वाचन आयोग र अदालतले समेत देखोस् भनेर हामी सडकमा उभिएका हौं। हामी यहाँ छौं भन्नुको अर्थ हाम्रो ‘हेड काउण्ट गर, बहुमत यता छ’ भनेर देखाउन खोजेका हौ’, नेकपा केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने।

उक्त प्रदर्शन माइतीघर मण्डलाबाट निर्वाचन आयोगतिर गइरहेको छ। आयोगलाई सशरीर बहुमत देखाउँन यस्तो प्लेकार्डसहित प्रदर्शन गरिएको विघटित प्रतिनिधिसभा सदस्य झपड रावलले बताए। नेकपाको बहुमत सडकमा भएकोले अल्पमतका कदम खारेज गर्न ‘हामी यहाँ छौं’ भनेर देखाउन खोजिएको उनले बताए। हस्ताक्षरमात्र होइन टाउको गनेर देखाउन यस्तो नारा लेखिएको उनको भनाइ छ।

नेकपा प्रचण्ड-माधव नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाको माग राखेर देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति पनि गठन गरिसकेको छ। प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमा आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ।