काठमाडौं। जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय संयोजक तथा नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले कमजोर धरातल भएका कारण प्रधानमन्त्री केपी शर्मा ओली विदेशीको इशारामा चल्नुपर्ने परिस्थिति आएको बताएका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै राईले उक्त कुरा बताएका हुन्। राईले लेखेका छन् – ‘आफुले भने जसरी चलेन भने मागे जति दिएन भने छँदाखाँदाको प्रधानमन्त्री कसलाई गुमाउन मन हुन्छ र ? त्यसलाई जोगाउनका लागि त्यो प्रधानमन्त्रीको दशा शुरू हुन्छ आफ्नै दलका नेताहरूको चित्त बुझाउनुपर्ने असिमीत दायित्व, अरू दल र नेताको गुलामी, विदेशीको चाकरी।’
उनले आफू घनचक्करको खेलमा नलाग्ने भन्दै सोच्नुपर्ने बेला आएको लेखेका छन्। ‘त्यस्तो प्रधानमन्त्रीले जनताको के काम गर्न भ्याउँछ ? विदेशीको अगाडि कसरी शिर उचो लगाउन सक्छ ? विगतमा भएको यस्तै नाटक हेरेर भोगेर आएका हामी फेरि त्यही घनचक्करमा फस्ने खेलमा किन लाग्नु ? बरू जे त होला ?’ उनले लेखेका छन्।
राईको फेसबुक स्टाटस
‘‘मलाई यस्तो लाग्छः संसद विघटन नहुनुपर्थ्यो, भयो। यो परिणाम आउनुको कारण खोजौं। नेकपा अब फुट्ने नै जस्तो छ। यस्तो बेला कुनै पनि दलको एकल बहुमत रहँदैन। अब अल्पमत भएको पार्टीको नेताले प्रधानमन्त्री हुन अरु दलसँग सम्झौता गर्नुपर्यो। छिमेकीले कसलाई मन पराउने हो ? सम्झौतामा सरकार बनाएपछि सहयोगी दलको माग पहिले पूरा गर्नुपर्यो। नत्र सरकार खतरामा पर्छ। छिमेकीलाई मन परेन भने सरकार फेरि खतरामा। आफूले भने जसरी चलेन भने मागे जति दिएन भने छँदाखाँदाको प्रधानमन्त्री कसलाई गुमाउन मन हुन्छ र ? त्यसलाई जोगाउनका लागि त्यो प्रधानमन्त्रीको दशा शुरू हुन्छ आफ्नै दलका नेताहरूको चित्त बुझाउनुपर्ने असीमित दायित्व, अरू दल र नेताको गुलामी, विदेशीको चाकरी। त्यस्तो प्रधानमन्त्रीले जनताको के काम गर्न भ्याउँछ ? विदेशीको अगाडि कसरी शीर उचो लगाउन सक्छ ? विगतमा भएको यस्तै नाटक हेरेर भोगेर आएका हामी फेरि त्यही घनचक्करमा फस्ने खेलमा किन लाग्नु ? बरू जे त होला ?’’




लोकपाटी न्यूज

