पार्टी नबन्दै ओली समूहमा बढ्यो असन्तुष्टि

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली समूहभित्र नयाँ पार्टी निर्माण नहुँदै असन्तुष्टि देखा परेको छ। एकातिर, ओली समुहले केन्द्रीय सदस्य बनाएका नेताहरुबाट भटाभट पद अस्वीकार भइरहेको छ भने अर्कोतिर, प्रधानमन्त्रीका आसेपासेहरु नयाँ पार्टी निर्माणमा ‘बाधक’ बनेको गुनासाहरु व्यक्त हुन थालेका छन्।

आफूलाई प्रधानमन्त्री ओलीको समर्थक बताउने नेता बिजय सुब्बा पार्टी फुट्नुमा शीर्ष नेता (प्रधानमन्त्री ओली)का आसेपासेहरुको भूमिका रहेको बताउन हिचकिचाउँदैनन्। ती को-को हुन् भनेर खोल्न भने उनी चाहँदैनन्।

‘मैले पहिल्यै फुट्छ भनेकै थिएँ नि। अन्ततः मेरो पार्टी फुट्यो,’ सुब्बाले फेसबुकमा लेखेका छन्, ‘तर पार्टी फुट्नुको एउटा कारण आसेपासेको अनावश्यक घेराबन्दी र अरुलाई निषेध गर्ने जुन प्रवृत्ति थियो त्यो अझै देखिनु नयाँ पार्टी निर्माण र विस्तारमा बाधक बन्ने भयो।’

नेता सुब्बाले फेसबुकमा जे लेखेका छन्, त्यो पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले भन्दै आएको वा लगाउँदै आएको आरोप हो। प्रधानमन्त्री ओलीले निरन्तर आफुहरुलाई र पार्टी पद्धतिलाई निषेध गरेका कारण नेकपा पार्टी फुटको अवस्थामा पुगेको प्रचण्ड-नेपाल पक्षको भनाई छ।

ओली समुहमा रहेका नेता सुब्बा प्रचण्ड-नेपाल पक्षको कुरा फेसबुकमा लेखिरहेका छन् र नयाँ पार्टी निर्माणमा तिनै आसेपासे बाधक बन्ने भए भनेर चिन्ता जनाइरहेका छन्। प्रधानमन्त्रीको आसेपासेहरुका कारण कतिपय नेता प्रचण्ड-नेपाल पक्षमा गएको, प्रचण्ड-नेपाल पक्षका आसेपासेकाहरुका कारण कतिपय नेता ओली समुहमा आएको सुब्बाको विश्लेषण छ।

‘आसेपासेको व्यवहारका कारण उताको पनि यता आए, यताको गए। यहाँ राम्रो गर्दैनन्, यिनिहरु खराब छन् भनेर पनि नेताहरुले कता, कता जाने निर्णय लिएका छन्,’ अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा सुब्बाले भने, ‘अनावश्यक घेराबन्दी गर्ने साथीहरु छन्, त्यो कारणले नयाँ पार्टी निर्माणमा समस्या खडा हुन्छ। त्यसमा ध्यान दिनुपर्छ, जोगिनुपर्छ।’