सुदूरपश्चिममा पूर्वमाओवादीबाट लेखराज एक्लै गए ओलीसँग

Lekhraj_Batta
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सुदूरपश्चिम प्रदेशमा उनको समूह कमजोर देखिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सुदूरपश्चिम प्रदेशका नौ जिल्लबाट ३६ केन्द्रीय सदस्य रहेका थिए।

जसमध्ये पूर्वमाओवादी केन्द्रतर्फका १४ र पूर्वएमालेका २२ जना केन्द्रीय समितिमा थिए। प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा अघोषित विभाजन भएको छ। यसले नेताहरू पनि विभाजित भएका छन्। लेखराज भट्ट सुदूरपश्चिममा पूर्वमाओवादीका सबैभन्दा प्रभावशाली नेता मानिन्छन्।

पार्टी विभाजन भएपछि उनी प्रधानमन्त्री ओली समूहमा पुगेका छन्। तर, पार्टी एकता हुँदा पूर्वमाओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका सुदूरपश्चिमका १४ मध्ये १३ जना नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षमा रहेका छन्। भट्ट एक्लै ओली समूहमा गएका हुन्।

प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य खगराज भट्टका अनुसार सुदूरपश्चिम प्रदेशबाट लेखराज भट्ट मात्र ओली समूहमा गएका छन्। लेखराज भट्टबाहेक अरू सबै केन्द्रीय सदस्य प्रचण्ड-नेपाल पक्षमा रहेको नेता खगराज भट्टले जानकारी दिए।

उनका अनुसार प्रचण्ड नेपाल समूहमा रहेका केन्द्रीय सदस्यहरूमा बैतडीका नरेन्द्र कुँवर, रेनु चन्द, दार्चुलाका लक्ष्मणदत्त जोशी, देवराज जोशी, अछामका तारामान स्वाँर, शरदसिंह भण्डारी, डोटीका त्रिलोचन भट्ट, कैलालीका वीरमान चौधरी, रुपा थारु, नेप बहादुर चौधरी प्रचण्ड-नेपाल समूहमै छन्।

त्यसै गरी कञ्चनपुरका बिना मगर, देवीलाल चौधरी, तथा डडेल्धुराका खगराज भट्ट प्रचण्ड-नेपाल समूहमै छन्। त्यस्तै पूर्वमाओवादी पक्षका चार जिल्ला अध्यक्ष र ५ जना सचिव पनि प्रचण्ड-नेपाल समूहमै छन्। सुदूरपश्चिमका पूर्वमाओवादीतर्फका १४ जना प्रदेश सांसद पनि प्रचण्ड समूहमै रहेको उनीहरूले बताएका छन्।

प्रदेशसभा सदस्यहरू

३९ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री सहित ३५ जना प्रचण्ड-नेपाल समूहमा छन्। नेकपा संसदीय दल सुदूरपश्चिम प्रदेश सभाका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्ट, उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल बहादुर रावल सहित ३५ जना सांसद प्रचण्ड-नेपाल समूहमा छन्।

३५ भित्र तटस्थ भूमिकामा रहेका सभामुख अर्जुन बहादुर थापा र उपसभामुख निर्मला जोशी बडाल पनि पर्छन्। आन्तरिक मामिला मन्त्री झपट बोहरा, प्रदेश सभा सदस्यद्वय कुन्ती जोशी र लिलाधर भट्ट कुन पक्षमा हुन खुल्न नसकेको भए पनि उनीहरूले प्रचण्ड-नेपाल समूहबाहिर जान नसक्ने नेकपाका एक नेताको दाबी छ।

सुदूरपश्चिममा प्रचण्ड-नेपाल समूहको प्रदेश सभामा रहेको सदस्य सङ्ख्या एकल रूपमा सरकार चलाउन पर्याप्त छ। यहाँ, प्रचण्ड-नेपाल समूह पार्टी फुटे पनि कसैसँग सहकार्य नगरी सरकार चलाउन सक्ने अवस्थामा छन्। यता पूर्वएमालेतर्फमा भने केन्द्रीय समिति र प्रदेशसभामा अहिलेसम्म नेताहरू तानातानमै रहेका छन्।