थापा, रायमाझी र भट्टतर्फ महेश बस्नेतको संकेत : ‘पूर्वमाओवादी नेताहरु गलगाँड हुन्’

Maoist leader with Kp Oli
लोकपाटी न्यूज

काठमाडौं। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा बिघटन गरेपछि नेकपामा एकअर्कालाई आरोप–प्रत्यारोप लगाउने क्रमले तीव्रता पाएको छ। बुधबारबाट नेकपा औपचारिक रुपमै विभाजित भएको छ।

नेकपा औपचारिक रुपमा विभाजित हुँदा जनकपुरमा रहेका ओलीनिकटका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वमाओवादी नेताहरुलाई गलगाँडको गम्भीर आरोप लगाएका छन्। पुस ७ गते मंगलबार जनकपुरधाम पुगेका नेता बस्नेतले पूर्वमाओवादी नेताहरुलाई गलगाँड र ट्युमरको संज्ञा दिँदै उनीहरुसँग अलग हुँदा आफूहरुलाई फाइदा भएको विश्लेषण गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवा संघको भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै नेता बस्नेतले पूर्व माओवादीका साथीहरु अब गलगाँडो साबित भइरहेको बताएका थिए। उनले भनेका छन्, ‘शरीरमा गलगाँड र ट्युमर भएपछि त्यसलाई फाल्दा केही हुँदैन् बरु शरीरको लागि फाइदा नै हुन्छ। त्यसैले नेकपा अब त्यस्ता गलगाँड र ट्युमरलाई फालेर अगाडि बढेको छ।’

बन्दुकको बलमा सत्तामा पुगेका माओवादी मरणासन्न भएको अवस्थामा केपी शर्मा ओलीले पम्पिङ गरेर, अक्सिजन दिएर पुन जीवित बनाएको दाबी गर्दै पूर्व मन्त्री समेत रहेका बस्नेतले त्यो अहिले आएर भूल साबित भइसकेको बताएका छन्। यद्यपि ती साथीहरु पार्टीमा रहे या नरहे आफूहरुलाई कुनै फरक नपर्ने उनको भनाइ थियो।

‘आइसीयुमा राखेर जुन साथीहरुलाई कमरेड ओलीले बचाएका थिए उनै साथीहरु अहिले पार्टी बिरुद्ध षडयन्त्रमा लागेका छन्, अब नेकपा उनीहरुलाई पन्छाएर झनै ऊर्जावान भएर अगाडि बढ्ने छ,’ उनले भने, ‘हामी पुरानै चुनाव चिन्ह सूर्य चिन्हका साथ अगाडि आउनेछौँ।’

यसका साथै नेता बस्नेत नेपाली कांग्रेस र जनता समाजवादी पार्टी बिरुद्ध समेत खनिएका थिए। उनले नेपाली कांग्रेसले देखावटी विरोध गरिरहेको बताए ।उनले जसपा तर्फ इंगित गर्दै भने ‘जसपाका साथीहरु कमरेड ओली मधेशमा अलोकप्रिय भनिरहेका छन्, यदि साँच्चै कमरेड ओली मधेशमा अलोकप्रिय छन् चुनावमा सहभागी हुन आग्रह गर्छौँ।’ चुनाव नहुने भन्नेहरुलाई उनले भ्रम नपाल्न आग्रह गरे। उनले भने ‘चुनाव नहुने र राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको कदम अदालतले पल्टाउने भ्रम नपाल्नुस्।’

नेता बस्नेतले पूर्वमाओवादी नेताहरुलाई गलगाँड र ट्युमर भनिरहँदा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा पनि ओली समूहमा उभिएका छन्। बस्नेतले प्रचण्ड, नारायणकाजी श्रेष्ठका साथै पूर्वमाओवादीका सबै नेताहरुलाई एकमुण्ट गलगाँडको आरोप लगाएका हुन्।

यसअघि पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालमा १० वर्ष लामो युद्ध अनावश्यक र हिंसात्मक भएको भन्दै जनयुद्धको अपमान गरेका थिए। प्रधानमन्त्री ओलीले कार्तिक १३ गते नेकपा सचिवालय बैठकमा पनि जनयुद्धमाथि अपमान गर्दै आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। जनयुद्धलाई कहिल्यै स्वीकार नगरेका र युद्धअपराधको संज्ञा दिएका ओलीले आफूतिर लागेका पूर्वमाओवादीहरुलाई भोलिका दिनमा कति अपमान गर्ने हुन् ? त्यो भने हेर्न बाँकी नै छ।