काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सँगै निर्वाचन लड्न चुनौती दिएका छन्। ओलीले एक टेलिभिजन अन्तर्वार्तामा नेता पौडेलले चुनाव नजित्ने भएकाले आन्दोलन गर्न दबाब दिइरहेको आरोप लगाएका थिए।
त्यसको जवाफमा नेता पौडेलले आफूले पाँचपल्ट चुनाव जितेको उल्लेख गर्दै केपी ओलीसँगै चुनाव लड्न तयार भएको बताए। उनले ओलीको उक्त टिप्पाणीप्रति आपत्ति समेत जनाए।
‘म पाँचपल्ट चुनाव जितेको मान्छे हुँ,’ उनले भने, ‘अबको चुनावमा केपी ओलीसँगै लड्न तयार छु।’ लोकतन्त्रलाई धरापमा पारेर ओली व्यक्तिगत टिप्पणीमा लागेको उनको गुनासो छ।
संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको ‘असंवैधानिक’ कदमविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरू आक्रामक ढंगले प्रतिवाद गर्नेमा जोड दिएका छन्। ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानि हेर्न नहुने पक्षमा उनीहरु छन्।
पौडेल र उनीपक्षीय अधिकांश केन्द्रीय सदस्यहरू ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा देखिन्छन्। सँगै अदालतको ढोका ढकढकाउने बाटो पनि कांग्रेसले लिनुपर्ने पक्षमा पौडेल देखिएका छन्।
यसै सन्दर्भमा रहेकर सोधिएको प्रश्नको जवाफमा ओलीले नेता पौडेलले चुनाव नजित्ने भएकाले आन्दोलन गर्न दबाब दिइरहेको आरोप लगाएका थिए।



लोकपाटी न्यूज

