यस्ता छन् नेकपाले घोषणा गरेका आन्दोलनका कार्यक्रम

CPN - Nepal Communist Party
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ – माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो।

भोलिबाटै आन्दोलन सुरु गर्ने भए पनि देशव्यापी प्रदर्शन भने १४ गते गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए। प्रदर्शन काठमाडौंदेखि सुरु भएर देशव्यापी बनाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए। यस्तै बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा संसद विघटनविरुद्ध आन्दोलन गर्न २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाइएको छ। आन्दोलनको कमाण्डका लागि सानो आकारको सचिवालयसमेत गठन गरेको प्रवक्ता श्रेष्ठले बताए।

संसद ज्युँदै छ भन्ने सन्देश दिन सर्वोच्च अदालत र निर्वाचन आयोग जान लागेको उनले बताएका छन्। बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। पहिलो चरणका कार्यक्रमपछि अझ सशक्त कार्यक्रमको घोषणा गर्ने तयारी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पार्टी एकतालाई कमजोर पार्न खोज्ने र कुशासनमा धकेल्न खोज्ने सबै प्रकारका गतिविधिविरुद्ध एक भएर एकतालाई सुदृढ बनाउन प्रतिनिधिसभाको विघटनको घोषणा र प्रतिगामी षडयन्त्रविरुद्ध कार्यक्रम गर्ने उद्घोषसहित यो समूहले पहिलो चरणका कार्यक्रमको सार्वजनिक गरेको हो।

पुस ७ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक बिहीबार सम्पन्न भएको प्रवक्ता श्रेष्ठले बताए। बैठकको सुरुमा अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका थिए भने समापनका क्रममा अध्यक्ष प्रचण्डले सम्बोधन गरेको उनले जानकारी दिए।

यस्ता छन् कार्यक्रम

-पुस १० गते बिहान साढे ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचन आयोगमा पार्टीको केन्द्रीय कमिटीका सदस्य र पार्टीको तर्फबाट सांसदमा रहेका सांसदको उपस्थितिमा विशेष कार्यक्रम,

-पुस १० गते राजधानीमा पार्टी अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन हुने। २ बजे पत्रकार सम्मेलन हुनेछ। स्थान भने तय भएको छैन,

-पुस ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने। सात दिनभित्र प्रदेश कमिटीको बैठक गर्ने,

-पुस १२ गते ७७ जिल्ला स्तरीय कार्यकर्ता भेला हुने। उक्त भेलामा एकीकृत पार्टीलाई कसरी अगाडि बढाउने र एकताविरुद्धका भ्रमलाई कसरी चिर्ने र प्रतिगामी कदमविरुद्ध कसरी संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम,

-पुस १४ गते राजधानी र जिल्ला-जिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध कार्यक्रम,

-पुस २० गतेसम्म नगरपालिका र गाउँपालिकामा बैठक,

-पुस २५ गतेसम्म वडा स्तरमा कार्यक्रम,

-पुस १४ सम्ममा जनवर्गीय संगठन र मोर्चा संगठनको केन्द्रीय बैठक र भेला,

-राजधानीमा यो बीचमा पनि विभिन्न स्थानीय कार्यक्रम हुने,

-संघर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय १ सदस्य रहेको केन्द्रीय समिति बनेको छ। केन्द्रीय समितिको सचिवालय समेत बनेको छ,

-प्रदेश सम्बन्धी स्थायी कमिटी सदस्यलाई तत्काल पार्टीका संघर्षको कार्यक्रममा जुटेर आआफ्नो क्षेत्रमा जान निर्देशन,

-केन्द्रीय, प्रदेश र जिल्ला कमिटीको जिम्मेवारीका विषयमा स्थायी कमिटीले नै आवश्यक निर्णय लिनसक्ने अधिकार दिइएको छ।