काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन्। पार्टीको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ओली पक्षीय भेलामा गृहमन्त्री थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताए।
नेकपाभित्र ताजा जनादेशको विरोधमा लाग्नेहरुप्रति लक्ष्य गर्दै उनले भने, ‘उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिलाई उल्ट्याउन केन्द्रित छ। उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ। पार्टीको राष्ट्रवादी नेतृत्वले चालेका कदमलाई पार्टीले दृढतापूर्वक अघि बढाउने छ।’
नेता थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने स्पष्ट गरे। उनले हालै घोषणा गरेको मध्यावधि निर्वाचनलाई सफल बनाउनका लागि सबै नेता तथा कार्यकर्ताले प्रयास गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय प्रतिक्रान्तिलाई निरूत्साहित गर्नका लागि भएकोसमेत जनाए। ‘असाधारण अवस्थामा नेतृत्वले असाधारण निर्णय लिनुपर्ने हुन्छ, जुन अहिले भएको छ,’ थापाले अगाडि भने, ‘निर्वाचनमा जाने निर्णय असाधारण भए पनि त्यसले क्रान्तिलाई सफल पार्ने छ, यसमा विश्वस्त हुन सबैलाई आग्रह गर्दछु।’



लोकपाटी न्यूज

