हामी होइन‚ केपी ओ‌लीको सरकार विघटित भएको होः प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू विघटित नभएको बताएका छन्। केन्द्रीय समिति बैठकमा केपी शर्मा ओलीको सरकार विघटन भएको बताएका हुन्। उनले आफू विघटित नभएको कुरा सहजै बुझ्न सकिने भएकाले यो कुरा बुझ्न अधिकारीहरूलाई गाह्रो भएको उल्लेख गरे।

‘पाँच मिनेट समय दिनुहोस् विकल्प लिएर आउँछु, संविधान विघटन नगरौं भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्नु भएन,’ प्रचण्डले भने। उनले पार्टी बचाउने विकल्प छ भन्दाभन्दै विघटन किन गरेको ? भनेर प्रश्न गरेका थिए। ‘लोकतान्त्रिक प्रणालीलाई अपहरण गरेर कता जान खोजिएको हो ? खबरदार! संविधानको अपहरण नगरियोस्। वैधानिक निकायलाई हामीले लगातार खबरदारी गरिरहनेछौं,’ उनले भने।

ओलीले चालेको कदमविरूद्ध सबै राष्ट्रिय पार्टी‚ अधिवक्ता‚ पत्रकार र पूर्वन्यायाधीशले भनिरहेकाले पनि यो कदम असंवैधानिक भएको प्रष्ट भएको उनले बताए। प्रचण्डले आफूहरू मिसनसहित एक भएकोले अब एकतालाई समाजवादी मोडेल लैजाने बताए। साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुर्जुवा भएको लक्षित गर्दै उनले बुर्जुवाहरू शब्दजालमा सिपालु हुने बताए।

उनले नेकपा भित्र के भइरहेको छ, सबैसामू स्पष्ट रहेको भन्दै उनले जसले जे दाबी गरे पनि आधिकारिक नेकपा आफूहरू नै भएको बताए। ‘केपी ओलीले नेतृत्व गरेको त गुट हो, पार्टी होइन । त्यो अवैधानिक छ’, उनले भने।

अध्यक्ष प्रचण्डले मुलुकमा २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको पनि बताए। उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन ठूलो डिजाइन अनुसार अहिले काम भइरहेको बताए। प्रचण्डले भने,’ २०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ। हाम्रा उपलब्धिको हत्या गरिएको छ, अपहरण गरिएको छ। हामी मर्दै नमरेकालाई मरेको भनिएको छ। जरुरी पर्छ भने जुझारु संघर्षमा जानुपर्ने हुन्छ।’

उनले ७ दशकसम्म प्राप्त उपलब्धिसमेत गुम्ने खतरा रहेको उल्लेख गरे। ‘हामीले ७ दशकसम्म लडेको लडाईंबाट प्राप्त गरेका उपलब्धि अपहरण भएका छन्। हाम्रो आन्दोलन जाली र फटाहा प्रवृत्तिका विरुद्ध हो,’ उनले भने, ‘वैचारिक र राजनीतिक रूपमा विचलित साथीहरूसँगको लडाइँ हो। यो जीवन र मृत्युको लडाइँ हो। जस्तो सुकै मूल्य चुकाउन अघि बढ्नुपर्छ।’

अध्यक्ष प्रचण्डले विश्व शक्ति हत्याउन प्रतिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको बताए। ‘अन्तर्राष्ट्रिय तार पनि यहाँ जोडिएका छन्। भूराजनीतिक अवस्थितिको कारणले, विश्व शक्ति हत्याउन प्रतिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको छ,’ उनले भने।