काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अघोषित विभाजन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले उनलाई कारबाही गरेको छ। ओलीलाई पार्टी अध्यक्षबाट हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाएको छ। यससँगै नेकपा विभाजन भएको हो।
प्रचण्ड-नेपाल पक्षमा पार्टी केन्द्रीय समितिमा स्पष्ट बहुमत छ। ओली भने अल्पमतमा छन्। उनलाई पार्टी फुटाउन आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्याउन पनि कठिन परेको छ। पार्टीले वैधानिकता पाउन ओलीले प्रचण्ड-नेपाल निकट नेताहरूलाई आफूतिर तान्ने प्रयास गरिरहेका छन्। यता गृहमन्त्री रामबहादुर थापा र नेकपा उपाध्यक्ष वामदेव गौतमले आफू कतातिर लाग्ने भनेर खुलिसकेका छैनन्।
ओलीले उनीहरूलाई आफूतिर तान्ने कोसिस गरिरहेका छन्। तर कुन पक्षतिर लाग्ने भन्ने थापा र गौतमको निर्णय नेकपाले पर्खिरहेको छ। थापा र गौतमको भूमिका अहिले आम चासोको विषय बनेको छ। यद्यपि दुवै नेताहरू निकट मानिने अधिकांश नेताहरू भने प्रचण्ड-नेपाल पक्षमा खुलिसकेका छन्। बुधवारसम्मको अवस्था हेर्दा गृहमन्त्री थापा समूहका अधिकांश नेता प्रचण्ड-नेपाल पक्षतिर खुलेरै लागिसकेका छन्।
स्थायी समिति सदस्य देव गुरुङ र पम्फा भुसाल त धेरै अघिदेखि नै पार्टीमा ओलीसँग मिल्ने थापाको भूमिकासँग असन्तुष्ट थिए र प्रचण्डसँग निकट भैसकेका थिए। मंगलबार पार्टी विभाजनकै क्रममा आयोजना गरिएको ओली पक्षको केन्द्रीय समिति बैठकमा थापा पक्षका नेताहरू सहभागी भएनन्, उनीहरू अधिकांश प्रचण्ड-नेपालले आयोजना गरेको केन्द्रीय समिति बैठकमा सहभागी भए।
थापा निकट रहेका केही नेताहरू प्रदेशको जिम्मेवारीमा छन्। प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो, लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्ती र आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमन र कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी यसअघि थापा निकट रहे पनि अहिले प्रचण्ड-नेपाल पक्षमा खुलेका छन्।
तर बुधवार साँझ भने नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्याम्पमा रहने संकेत दिएका छन्। बुधवार ओलीसँग बालुवाटारमा एक घण्टा भेटेर प्रचण्डसँग भेट्न खुमलटार पुगेका थापाले वरिष्ठ नेता झलनाथ खनालपछि चौथो मर्यादा क्रममा रहने गरी वरिष्ठ उपाध्यक्ष पद माग गरेका थिए, जसमा प्रचण्ड सहमत भएनन्। एकीकृत अवस्थामा थापा नेकपामा आठौँ नम्बरमा थिए। उनी अगाडि प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए।
एकीकृत नेकपामा ओलीसँगको टसलमा माधव नेपालसँगै प्रचण्डलाई बलियो साथ दिने नेता श्रेष्ठ थिए। त्यस कारण पनि थापालाई श्रेष्ठभन्दा अगाडि ल्याउन नसकिने अवस्था पार्टीमा छ। थापाले पार्टीमा खोजेको स्थान नपाएपछि ओली क्याम्पमानै रहने आफू निकट नेताहरूसँग संकेत गरेका हुन्। ओलीले गृहमन्त्री थापालाई आफू पछिको वरीयता दिने आश्वासन दिएका छन्। थापाले पनि आफू गृहमन्त्री भइराख्ने र ओली पछिको वरियता खोजेका थिए। ओलीले पनि थापाले पार्टीमा खोजेको स्थान दिने बचन दिएको बताइएको छ।
थापा ओली क्याम्पमा गए पनि आफूहरू भने उक्त क्याम्पमा सहभागी हुन नसक्ने उनीनिकट नेताहरूले बताएका छन्। केही नेताहरू भने स्पष्ट रूपमा खुलिसकेका छन्। लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सञ्चारमाध्यममै आफू प्रचण्डलाई नछोड्ने बताइसकेका छन्। केसीले प्रदेशका आफू निकट नेताहरूलाई पनि प्रचण्डको साथ नछोड्न निर्देशन दिइसकेका छन्। एक नेताका अनुसार केसीले गृहमन्त्री थापा ओलीतिर लागे पनि आफूहरू त्यस्तो प्रतिगामी बाटोमा लाग्न नसक्ने बताएका छन्।
‘बादललाई हामीले पुरानो विरासत नभुल्नुस् भनेका थियौँ। तर मान्नु भएको छैन। ओली तिर लाग्ने सम्भावना बढी छ। बादल गए पनि ओलीको कदम प्रतिगामी छ। त्यसमा हामी जानु हुँदैन,’ केसीको भनाइ उदृत गर्दै उनी निकट एक नेताले बताए।



लोकपाटी न्यूज

