काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको नेकपाले पदाधिकारीको हेरफेर तत्काल नगर्ने भएको छ। यसअघि पार्टी महासचिवको टुंगो लगाउने चर्चा गरिए पनि तत्काल निर्णय नहुने नेकपा स्रोतले जानकारी दियो।
नेकपाबाट महासचिव विष्णु पौडेल ओली समूहतिर लागेपछि महासचिव बनाउनेबारे छलफल सुरु भएको थियो। तर, गृहकार्य नपुगेको र निर्वाचन आयोगको निर्णयपछि मात्र पार्टी संरचना हेरफेर गर्नु राम्रो हुने भएपछि नेकपाले तत्कालका लागि पदाधिकारीबारे कुनै निर्णय नगर्ने भएको हो।
नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाए पनि केन्द्रीय समितिबाट हटाइसकेको छैन। ओलीतिर लागेका कुनै पनि पदाधिकारीलाई जिम्मेवारीबाट हटाइनसकेका कारण नेकपाले तत्काल नयाँ निर्णय नगर्ने भएको हो। नेकपाको संस्थापन समूह र अल्पमतमा रहेको ओली समूह तत्काल ‘पर्ख र हेर’को अवस्थामा छन्।
यसअघि नेकपाको महासचिवमा सुरेन्द्र पाण्डे, भीम रावल, वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा दावी गरेको चर्चा गरिएको थियो। तर, नेकपाका वरिष्ठ नेताहरु पनि रहेकाले उचित जिम्मेवारी दिएर संगठन बनाउने नेकपाको तयारीमा छ।
नेकपाको बहुमत समूहले यसअघि नै विधि, प्रक्रियाको मुद्दा उठाएकाले पार्टी नेतृत्वको जिम्मेवारीका लागि पहिला निश्चित विधि, प्रक्रिया बनाउने नेकपाले जनाएको छ। ‘विधि र प्रक्रियाअनुसार संगठनबारे निर्णय हुन्छ। व्यक्तिको छलफलमा हामी पुगेकै छैनौं।’ स्रोतले भन्यो।



लोकपाटी न्यूज

