गौतमबुद्ध विमानस्थललाइ एडीबीले दियाे पौने १८ अर्ब

लोकपाटी न्यूज

निर्माणको अन्तिम अवस्थामा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको छ। बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त ऋण सम्झौतामा हस्ताक्षर भयो।

दक्षिण एसियाली उपक्षेत्रीय सहकार्य (सासेक)अन्तर्गतको विमानस्थल क्षमता अभिवृद्धि परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने सम्झौतामा उल्लेख छ। सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीको नेपालका लागि आवासीय इन्चार्ज रुडी लुई हेन्ड्रिकुस भान डेलले हस्ताक्षर गरे।

यो रकम समानान्तर ट्याक्सी वे निर्माण, जहाजहरु राख्ने हृयांगर निर्माणमा खर्च हुने भएको छ । नदि र बाढीजन्य जोखिम नियन्त्रण परियोजनाका लागि आएको रकम भने बाढी नियन्त्रणका लागि आवश्यक संरचना निर्माण, बाढीको पूर्वसूचना दिने संयन्त्र निर्माण र क्षति नियन्त्रणमा खर्च गरिने भएको छ । यो ऋण सम्झौतामा हस्ताक्षर भएको ९० दिन भित्र कार्यान्वयनमा आउने मन्त्रालयले जनाएको छ ।

एडीबीले यसअघि नै विमानस्थलको पहिलो चरणको कामका लागि करिब साढे दुई अर्ब ऋण उपलब्ध गराइसकेको छ । विमानस्थल निर्माणको अहिलेसम्म करिब ९३ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ ।

यस्तै बाढी जोखिम व्यवस्थापनका लागि एडीबीले करिब पौने अर्ब सहुलियतपूर्ण ऋण (चार करोड डलर) र करिब सवा अर्ब (एक करोड डलर) अनुदान पनि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । बाढीको जोखिम नियन्त्रणका लागि पूर्वाधार निर्माण गर्ने, बाढीको आकलन गर्ने क्षमता बढाउने र बाढीपूर्वको तयारीका लागि उपयोग हुने बताइएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्