टोपबहादुर रायमाझीलाई फेरि धोका !

Top-Bahadur-Rayamajhi
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओलीतिरै हुने भएपछि नेकपाका नेता टोपबहादुर रायमाझी फेरि जिल्लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले रायमाझीलाई आफ्नो समूहतिर लागे गृहमन्त्री बनाउने वचन दिएका थिए।

मंगलबार बिहान ओलीले बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरुको भेला गरेका थिए। उक्त भेलामा नेता रायमाझीले स्वागत मन्तव्य राख्दै प्रचण्डले ओली सरकारलाई असहयोग गरेका कारण आफू ओली समूहमा आएको धारणा राखेका थिए।

भेला सुरु हुनुभन्दा पहिले रायमाझीले आफूनिकट र आफूले चिनेजानेका पूर्वमाओवादी नेताहरुलाई फोन गरेका थिए। फोनमा उनले ‘म गृहमन्त्री बन्दैछु, बालुवाटारमा हाम्रो भेला छ, तपाई पनि आउनुस्’ भनेका थिए। तर, उनी ओली समूहका लागेको जानकारी पाइसकेका नेता–कार्यकर्ताले उनको फोन उठाएनन्। त्यसपछि उनले अरु नेताहरुलाई फोन गर्दै ‘त्यसले मेरो फोन नउठाउने, भोलि म चाहिन्नँ, त्यसलाई भन्दिनू’ भन्दै आक्रोश पोखेका थिए।

तर, गृहमन्त्री रामबहादुर थापा ओली समूहमै रहने भएपछि रायमाझी जिल्लिएका छन्। नयाँ संविधान जारी भएपछि ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री तथा उर्जामन्त्री थिए। उपप्रधानमन्त्री भइसकेका कारण सामान्य मन्त्रालयमा मन्त्री भएर जान उनी मानिरहेका छैनन्। बादलले गृहमन्त्री नछोड्ने भएपछि नेता रायमाझी फेरि जिल्लिएका हुन्।