दर्जनौं नेताद्वारा ओलीको केन्द्रीय सदस्य अस्वीकार (नामसहित)

KP Sharma Oli-33
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहमा नेकपाको केन्द्रीय सदस्य मनोनयन गरेका नेताहरूले पद अस्वीकार गर्न थालेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समितिको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गरेर ११ सय ९९ केन्द्रीय सदस्य पुर्‍याएको थियो।

जानकारीविना आफ्नो नाम केन्द्रीय समितिमा राखिएको प्रति नेताहरूले आपत्ति जनाएका छन्। नेताहरूले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले थाहै नदिई केन्द्रीय समितिमा राखेको प्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले बताएका छन्। ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वज तुम्बाहाम्फेले एक विज्ञप्ति जारी गरेर थाहै नदिई आफूलाई केन्द्रीय समितिमा राखेको प्रति आपत्ति जनाएका छन्।

उनले भनेका छन्, ‘मलाई थाहै नदिई मेरो नाम केपी शर्मा ओली समूहको केन्द्रीय सदस्यमा राखिएको प्रति मेरो असहमति रहेको ब्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैमा जानकारी गराउँदछु। साथै म पार्टीको बहुमत केन्द्रीय सदस्यहरूले प्रतिनिधित्व गरेको अर्थात् प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नै आबद्ध रहेको ब्यहोरा सबैलाई जानकारी गराउँछु।’

नेताहरूलाई रिझाउन ओलीले हचुवाको भरमा केन्द्रीय सदस्यमा नाम राखेको नेकपाका नेताहरूको भनाई छ। पार्टीमा आफूलाई बलियो छु भनी देखाउन ओलीले आफूहरूलाई प्रयोग गर्न खोजेको उनीहरूको भनाई छ। प्रधानमन्त्री ओली समूहले हचुवाको भरमा केन्द्रीय समिति सदस्यको संख्या विस्तार गरेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो। पार्टीको एकता महाधिवेशन २०७८ मङ्सिर २ मा गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले ५ सय ५६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

अरू १ सय ९६ सदस्य सङ्ख्या रिक्त रहेको र पूर्ति गर्दै जाने ओली समूहको तयारी थियो। पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा नाम बुझाइएका ४ सय ४७ मध्ये १ सय २० जना केन्द्रीय सदस्य बैठकमा सहभागी थिए। प्रधानमन्त्री ओलीले सुरुमा थप गरिएका केन्द्रीय समिति सदस्यहरूलाई शपथ गराएका थिए।

यता नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपालसहितको बहुमत सदस्य सम्मिलित केन्द्रीय समिति बैठकले केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको छ। बैठकले ओलीलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको थियो। नेकपाका सबै समितिमा प्रचण्ड-नेपाल समूहको बहुमत रही आएको छ। अल्पमतमा रहेका ओलीले बहुमतलाई आफूले नमान्ने अहंकारी चरित्र प्रस्तुत गर्दै आएका थिए। पार्टीमा आफू कारबाहीमा पर्ने भएपछि त्यसअघि नै पार्टी नेताहरूलाई आफ्नो पक्षमा ल्याउन ओलीले केन्द्रीय समिति विस्तार गरेका थिए।

थपिएका केन्द्रीय सदस्यहरूमा अधिकांश पूर्वसांसद, प्रदेश सांसद र स्थानीय तहका निर्वाचित मेयर, उपमेयर, अध्यक्षहरू छन्। प्रतिनिधिसभाको विघटन गरेर कम्युनिस्ट आन्दोलनलाई बदनाम गराएका ओलीले आफूहरूको दुरुपयोग गर्न खोजेको मनोनीत केन्द्रीय सदस्यहरूको भनाई छ। उनीहरूले पार्टीले कारबाही गरिसकेको अध्यक्षले आफ्नो फाइदाका लागि हामीलाई प्रयोग गर्न नसक्ने ओलीको प्रस्ताव गर्ने एक नेताले बताए। पार्टीको विधि र विधान नमान्ने ओलीको लागि आफू काम गर्न नसक्ने ती नेताको भनाइ थियो।

आफ्नो पक्षमा बहुमत सदस्य देखाउन ओलीले गरेको दिएको पद अस्वीकार गर्नेमा प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री, प्रदेश सांसद देखि स्थानीय तहका अध्यक्षसम्म रहेका छन्। ओली समूहले थप गरेको केन्द्रीय सदस्यहरूको नामावलीमा आफूहरूलाई जानकारी नै नदिई नाम राखेकोप्रति आपत्ति जनाउँदै उनीहरूले पद आफूहरूलाई स्वीकार्य नभएको बताएका हुन्।

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको बिर्तामोड घर भएकी राज्यमन्त्री गजमेरले बुधवार बिहान फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्, ‘विश्वास र भरोसासाथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिनँ।’

यसै गरी मंगलबार साँझ फेसबुकमै स्टाटस लेख्दै ओलीको गृहनगर झापा मेची नगरका प्रदेश सांसद गोपाल बुढाथोकीले आफूलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मञ्जुर नभएको बताएका छन्। उनले स्टाटसमा लेखेका छन्, ‘कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहासबाट पनि हाम्रा नेताहरूले शिक्षा लिएनन्। जनतालाई धरधरी रुवाएर परिवारभन्दा पनि बढी माया गरेको पार्टी विभाजन गराए, हामी यो वेला दुःख व्यक्त गर्न रमिते हुनबाहेक के पो गर्न सक्नेरहेछौँ र ? मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पद मञ्जुर छैन।’

यी हुन् केन्द्रीय सदस्य पद अस्वीकार गर्नेहरू

१) डम्बरध्वज तुम्बाहाम्फे – ताप्लेजुङ
२) गोपाल बुढाथोकी – झापा
३) जसमाया गजमेर – प्रदेश १ सामाजिक विकास राज्यमन्त्री
४) ज्ञानेन्द्र श्रेष्ठ – उदयपुरको कटारी नगरपालिका प्रमुख
५) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
६) कमलेश झा – नेकपा प्रदेश २ सदस्य
७) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य
८) बृहस्पति अधिकारी – नवलपरासी
९) जागेश्वरीदेवि चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख
१०) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य
११) टिकाराम खड्का – दाङ अध्यक्ष
१२) रामप्रसाद दंगाल – खोटाङ सचिव